‘हाम्राे प्रदर्शन न्यायालयविरुद्ध हाेइन’

नेपालखोज २०७८ कार्तिक १४ गते १२:३०

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विरुद्धमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् ।

वरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताए । यस्तै नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंँदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नुपरेको बताइन् ।

यता नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभएर बाध्यता भएको बताएका छन्। आज नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् भने अर्को समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ ।

न्यायालयमा केही सकारात्मक र केही नकारात्मक क्रियाकलाप भएको भन्दै केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले दुवैथरी पट्टी बाँधेर प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै एसोसिएसनले जबराको राजीनामा माग्दै आएकाे छ ।

प्रतिक्रिया