खोप लगाएकालाई पनि देखियो कोरोना, संक्रमितको प्रतिशत घट्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुने बिरामीको संख्या एक प्रतिशतमा झरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलका अनुसार कोरोना संक्रमण भएर अस्पतालको इमरजेन्सीमा आउने बिरामीको संख्या एक प्रतिशतमा झरेको हो ।
पछिल्लो समय खोप लगाएका व्यक्तिहरू कोरोना पोजेटिभ भएर आउने गरेको उनले बताएका छन् । खोप लगाइसकेको भन्दै स्वास्थ्य मापदण्डको पालना नगर्दा उनीहरूमा संक्रमण हुन थालेको डा. बास्तोला बताउँछन् । त्यस्तै कतिपय खोप लगाइसकेका वृद्ध व्यक्तिहरू पनि निमोनियाँको समस्या लिएर आउने र उनीहरूलाई अक्सिजनको आवश्यकता पर्ने अथवा कहिलेकाहीँ आईसीयूमा भर्नासमेत गर्नुपरेको पनि उनले बताए ।
लामो समयसम्म खोप लगाइसकेपछि रोग प्रतिरोधात्मक शक्ति ह्रास हुन सक्ने र केही व्यक्तिमा खोप लगाए पनि रोग प्रतिरोधात्मक शक्ति नबन्ने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । अहिले खोप लगाएका व्यक्तिहरू पनि कोरोना पोजेटिभ भएर आउने गरेकोबाट पनि यो कुरा अनुभव गर्न सकिन्छ । त्यसकारण पनि पछिल्लो समय संक्रमणको दर घट्दै जाने, चाडबाड आउने र अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्डहरू नअपनाउने कारण पुनः केही व्यक्तिहरू संक्रमित भएर अस्पताल आउनुपरेका घटनाहरू छन् ।
यस्ता घटना भए पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर भने घट्दै गएको बुझ्न सकिन्छ । डा. बास्तोलाले सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको खोप कार्यक्रममा सम्पूर्ण नागरिकले सहभागी भएर पूर्ण मात्राको लगाउन आवश्यक रहेको बास्तोला बताउँछन् । उनले राजधानी बाहिरबाट सिकिस्त बिरामी भएर आउनेहरूको संख्या पनि पछिल्लो समय घट्दै गएको बताए ।
अहिले पनि नेपालमा कोरोना संक्रमणको जोखिम कायम रहेको र संक्रामक रहेकाले खोप लगाएका व्यक्ति पनि संक्रमित हुने जोखिम रहेकाले आमनागरिकले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अति आवश्यक रहेको उनले बताए ।
डेंगुसँग मिल्ने लक्षण भएका बिरामीको संख्या बढ्यो
काठमाडौं उपत्यकालगायत केही पहाडी र तराईका जिल्लामा ज्वरो आउने, आँखाको नानी, टाउको, मांशपेसी, जोर्नी, घुँडा तथा ढाड दुख्ने लक्षण लिएर बिरामीहरू आउन थालेका छन् । उनीहरूमा देखिएका लक्षणहरू डेंगुसँग मिल्दाजुल्दा रहेको र केहीमा डेंगुको संक्रमण पुष्टि भएको पनि डा. बास्तोलाले बताए ।
डेंगु लामखुट्टेको टोकाइबाट हुने रोग हो । यो लामखुट्टेले बिहानी समय घाम उदाउने बेलामा र साँझपख सूर्य अस्ताउने बेलामा टोक्ने गर्छ । विशेषगरी साँझ–बिहान बाहिर निस्किँदा सतर्कता नअपनाउँदा लामखुट्टेले टोक्न सक्छ । यसैको कारणले डेंगु रोग लाग्छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख सतर्कता रहेको डा. बास्तोलाको भनाइ छ ।
लामखुट्टेको टोकाइबाट बच्न के गर्ने ?
१. लामखुट्टेको वृद्धि–विकास हुन नदिन सतर्क रहनुपर्छ । लामखुट्टेले फुल पार्ने ठाउँ, घरवरिपरि टायर, फालिएका बोत्तल र बिर्काहरू अथवा प्लास्टिक, पानी जम्ने ठाउँलाई हटाउनुपर्छ । त्यसलाई लर्भा नस्ट गर्ने प्रक्रिया पनि भनिन्छ । घरवरिपरि पानी जम्न दिएन भने लामखुट्टे वृद्धि हुन पाउँदैन ।
२. लामखुट्टेको टोकाइबाट बच्न घरका झ्याल ढोकामा जाली राख्नुपर्छ । राति वा दिउँसो सुत्दाखेरि झुलको प्रयोग गर्नुपर्छ ।
३. घरबाहिर निस्किदा जहिले पनि पूरा बाहुला भएको लुगा मात्रै लगाउनुपर्छ ।
डेंगुका बिरामी कतिबेला अस्पताल जाने ?
जो व्यक्तिलाई पटक–पटक बान्ता भइरहेको हुन्छ । पेट अचाक्ली दुखिरहेको हुन्छ । गिजा अथवा नाकबाट रगत बगेको देखिन्छ । पेट सुनिन्ने, सास फेर्न गाह्रो हुने तथा शरीरमा पानी जमेका जस्ता लक्षण देखिन सुरु हुन्छ । त्यस्तो अवस्था भए बिरामीले तुरुन्त अस्पताल जानुपर्ने डा. अनुप बास्तोला बताउँछन् ।
डेंगुको घरेलु उपचार
डा. बास्तोलाका अनुसार सामान्यतः डेंगु रोगको उपचारका लागि दुखाइ तथा ज्वरोमा प्रयोग हुने पारा–सिटामोलको प्रयोग गर्न सकिन्छ । त्यस्तै बिरामीले प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू खाएर घरमा आराम गर्नुपर्छ । यसबाहेक माथि उल्लेखित जटिल खालका लक्षणहरू देखिन थाले भने बिरामी तुरुन्त अस्पताल जानुपर्छ ।
पहाडी जिल्लामा स्क्रब टाइफसका लक्षणसँग मिल्ने बिरामी बढे
डा. बास्तोलाका अनुसार पछिल्लो समय पहाडी जिल्लाहरूमा स्क्रब टाइफसका लक्षणसँग मिल्दाजुल्दा लक्षण भएका बिरामी बढेका छन् । हन्हनी ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, शरीर दुख्नेजस्ता लक्षण लिएर आउने बिरामीको संख्या बढेको हो । यसको कारण स्क्रबटाइफस पनि हुन सक्ने उनले बताए ।
मुसामा हुने एक प्रकारको किर्नाको टोकाइबाट यो रोग मानिसमा सर्छ । यस्ता किसिमका लक्षण भएका बिरामीहरूलाई तुरुन्त अस्पताल जान डा. बास्तोलाले सुझाव दिएका छन् । जुन व्यक्तिमा स्क्रबटाइफस पोजेटिभ देखिन्छ उनीहरूलाई सामान्यतः एन्टिबायोटिकको प्रयोग गरेर उपचार गर्न सकिन्छ ।
स्क्रबटाइफसबाट बच्न घर वरिपरि झाडी हुन नदिने, घरमा मुसा आउने अवस्थालाई निस्क्रिय गर्न प्वालहरू टाल्ने जस्ता कार्य गर्नुपर्छ । बाहिर खेतबारी वा जंगलतिर जाँदा जस्तो पायो त्यस्तो ठाउँमा नबस्ने, बस्नै परे सुरक्षित स्थानमा मात्रै बस्ने, सकेसम्म अन्नबालीहरूलाई घरभन्दा अलि टाढा राख्ने गर्नुपर्छ । यति गर्न सके स्क्रबटाइफस हुनबाट जोगिन सकिने डा. बास्तोला बताउँछन् ।
प्रतिक्रिया