बुद्ध दर्शनले नेपाललाई विश्वभर चिनायो : तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्ध दर्शनले नेपाल र नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताएका छन् ।
आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनले विश्वमा नेपाललाई चिनाउने र नेपालीसँग जोड्ने काम गरेको धारणा राखे ।
उनले बुद्धले शान्ति र अहिंसाका लागि दिनुभएको सन्देश अहिले झनै मानवजातिको लागि सान्दर्भिक भएको बताए । अध्यक्ष तिमिल्सिनाले अहिलेपनि विभिन्न जातजाति, भाषाभाषि र धर्म, सम्प्रदायका बिचमा हत्या, हिंसा भइरहेको भन्दै यस्तो हिंसा मानव जातिका लागि अस्वीकार्य हुनुपर्ने बताए ।
उनले बुद्ध दर्शनको अद्धितीय गुण जीवन र प्रकृति प्रतिको नविनतम् सोच भएको पनि उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले बुद्ध दर्शनलाई मानव सशक्तिकरणको दर्शनको संज्ञा दिए । बुद्ध दर्शन व्यक्तिको अनुशासन र समाजको रुपान्तरण गर्ने प्रक्रिया रहेको पनि उनले बताए ।
बुद्ध दर्शनको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु, न्याय, बन्धुत्व, शान्तिपूर्ण सह–अस्तित्व र मानविय मर्यादामा आधारित विश्व व्यवस्था कायम गर्नु रहेको उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले मानव–मानवबीचको विभेद अन्त्यको लागि सबैको संगठित प्रयास हुनुपर्ने बताए ।

प्रतिक्रिया