‘राज्यका अंगले आफ्नो भूमिका प्रभावकारी पार्न सकेनन्’

नेपालखोज २०७८ कार्तिक १५ गते १४:०९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् ।

सोमबार (आज) नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।

संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले बताए । राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ ।

उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफु लागि पर्ने पनि बताए । देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए ।

वरिष्ठ नेता पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको बताए । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने उनले बताए ।

उनले नेपालको व्यवस्था अस्थिर हुनाको विडम्बना नेपालले भोगिरहेको बताए । वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ । रासस

प्रतिक्रिया