टक्सार विभागमा असर्फी किन्नेको भिड

नेपालखोज २०७८ कार्तिक १६ गते १३:५३

काठमाडाैं । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो ।

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि सुनको असर्फी नपाउने भईयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन् ।

उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन् । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन् । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दसैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।

प्रतिक्रिया