कोरोना महामारीबाट केही सिकेन विश्वले !

काठमाडौं । एक ताजा स्वास्थ्य मनिटरिङ रिपोर्टले कोरोना भाइरसको महामारी चलेको डेढ वर्षपछि पनि संसारले प्रतिक्रिया दिन सकिने उल्लेखनीय काम धेरै कम गरेको बताएको छ । आफ्ना गल्तीहरुबाट सिक्न विफल भएको कुरा रिपोर्टमा उल्लेख छ ।
बर्लिनमा प्रस्तुत उक्त रिपोर्टमा विश्व स्वास्थ्य संगठन तथा विश्व बैंकद्वारा स्थापित स्वतन्त्र निकाय ग्लोबल प्रिपेयर्डनेस मनिटरिङ बोर्ड (जीपीएमबी) ले महामारीका क्रममा प्राप्त भइरहेको निरन्तरको विफलताहरुको आलोचना गरेको छ ।
रिपोर्टमा भनिएको छ, “कोभिड – १९ महामारीको पहिलो वर्षलाई गम्भिर तयारी गर्ने तथा विज्ञानसम्मत ढङ्गले तिब्र गतिमा कार्य गर्ने कुरामा सामूहिक विफलता हात लागेको वर्षका रुपमा परिभाषित गर्न सकिन्छ भने दोस्रो वर्षलाई गहन असमानता र नेताहरुको असफलताका रूपमा चिनिने वर्ष भन्न सकिन्छ ।”
महामारीबाट के सिकियो ?
रिपोर्टको निष्कर्षअनुसार यो महामारीले हाम्रो एउटा यस्तो संसारलाई उजागर गरेको छ जुन “असमान, विभाजित र बेहिसाब ” छ । रिपोर्ट भन्छ, ” आपातकालीन स्वास्थ्य सेवाको परिस्थितिले यो तन्त्र कसरी विफल भएको छ भन्ने कुरा संसारलाई थाहा छ । यो उपयुक्त होइन र यसमा ठूलो सुधारको आवश्यकता छ ।”
बर्लिनमा सञ्चालित ग्लोबल हेल्थ समिटमा यो रिपोर्ट प्रस्तुत भएको थियो जब कोरोनाका कारण भएको मृत्युले आधा करोडको (पचास लाख ) आँकडा छुने अवस्था थियो ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले कोभिड-१९ सँग जोडिएका मृत्युलाई ध्यानमा राख्दै डब्ल्यूएचओले कुल मृत्यु अहिलेको संख्याभन्दा दुईदेखि तीन गुणा बढी हुन सक्ने अनुमान गरेको छ । भ्याक्सिनेसनको स्थिति हेर्दा धनी र गरिब देशबीच निकै गहिरो खाडल वा असमानता देखा पर्छ ।
भ्याक्सिनेसनमा पछाडि छुटे गरिब देश
’अहिलेसम्म गरिब देशका केवल १.४ प्रतिशत मानिसले मात्र खोपको दुवै डोज पाएका छन्, जुन दुर्भाग्यपूर्ण छ ।‘ विश्व व्यापार संगठन प्रमुख एनगोजी ओकोंजो-इविएलाले केही साता भनेकी थिइन् ।
जीपीएमबीका सह-अध्यक्ष एल्हाद एस सीले यो रिपोर्टको प्रस्तावनामा लेखेका छन् , “कोभिड – १९ को महामारीका क्रममा वैज्ञानिक प्रगति, विशेष रूपले भ्याक्सीनको विकास हामीले गर्व गर्न सक्ने कुरा हो । उनले भनेका छन् “यद्यपि हामीले त्रास र बिडम्बनापूर्ण परिस्थितिका लागि गहिरो लज्जा महसूस गर्नुपर्नेछ खासगरी खोपको अनुचित जमाखोरी, कम आय भएका देशमा अक्सिजनको कमी, शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिका, नाजुक अर्थव्यवस्था तथा असफल जस्तै देखिएको स्वास्थ्य प्रणाली । “
एल्हादले भनेका छन् ’महामारीका क्रममा भएको लाखाैंको मृत्यु न सामान्य हाे न त स्वीकार्य नै‘ । सन् २०२० को एक रिपोर्टमा जीपीएमबीले महामारी अघि संसारले यस्तो विपदको अवस्थामा चाहिने तयारीमा कति कम ध्यान दिएको थियो भन्ने कुराको खुलासा गरेको थियो । यसको अर्थ वा संकेत के हो भने पर्याप्त चेतावनीका बावजुद केही सुधार नहुनुले ठूलो क्षतिलाई अपरिहार्य बनाएको थियो ।
एएफपी
प्रतिक्रिया