शनिबार, वैशाख १३, २०८२

किन गरिन्छ कुकुरको पूजा ?

मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपालखोज २०७८ कार्तिक १७ गते ७:१२

काठमाडौं । आज यमपञ्चकअन्तर्गत कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिएर मनाइँदै छ । नर्के चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाइन्छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।

नरक चतुर्दशी
बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत छ ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरे शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ ।

कुकुरको पूजा किन गरिन्छ ?
हिन्दु धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीका साथै यमराजको दूतका रूपमा वर्णन गरिएको छ । मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान् भैरवको वाहनका रूपमा पनि चिनिन्छ ।

मानव सभ्यताको सुरुवातदेखि नै कुकुरले हरेक समयमा मानवलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बचाउने गर्छ । कुकुरको निद्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा चिनिन्छ । कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरी माला लगाइदिने चलन छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ ।

ऋग्वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीसँग वार्ता गरेको प्रसंग छ । यस्तै अर्को पौराणिक प्रसंगमा शरमाका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग उल्लेख छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्वर्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूपको रूपमा वर्णन गरिएको छ ।

प्रतिक्रिया