सोमबार, वैशाख १५, २०८२

‘सकिन्छ भने देउसी-भैलो नखेलौं’

मीना साउँद २०७८ कार्तिक १७ गते १०:०५

काठमाडौं । जनस्वास्थ्यविद्ले यस वर्ष देउसी भैलो नखेल्दा नै उपयुक्त हुने बताएका छन् । नेपालमा कोभिड संक्रमणदर घट्दै गएको भए पनि जोखिम भने कायमै रहेकाले सकेसम्म देउसी भैलो खेल्न नहुने खेले पनि सावधानी अपनाएर खेल्न जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनले सुझाव दिएका छन् । तिहार नेपालीको दोस्रो ठूलो चाड हो ।

तिहारमा साथीभाइ आपसमा जम्मा भई देउसी भैलो खेलेर रमाइलो गर्ने चलन छ । साथीभाइ एक ठाउँमा जमघट भई देउसी–भैलो खेल्नुको मजा नै बेग्लै छ ।

तर यसरी धेरैजना एकै ठाउँमा जम्मा भएर खेल्दा संक्रमण फैलन सक्ने जोखिम धेरै हुन्छ । देउसी खेल्दा ठूलो स्वरमा भट्याउने, गाउने गरिन्छ । यसरी भट्याउँदा कोही व्यक्ति संक्रमित छ भने उबाट संक्रमण धेरैमा सर्ने जोखिम रहन्छ । मास्कको प्रयोग र सामाजिक दूरी कोरोनाबाट बच्ने प्रमुख उपायहरु हुन् ।

तर यी दुवै देउसी–भैलोमा कतै पनि लागु हुन सक्दैन । मास्क लगाएर गाउँदा ठूलो स्वर ननिस्किने र रमाइलो पनि नहुने भएकाले मास्कको प्रयोग त्यति भएको देखिदैन । पुन भन्छन्, ‘गत वर्ष पनि देउसी खेल्दा मास्को प्रयोग गर्न, दुरी कामय गर्न आग्रह गरिएको थियो तर त्यो कतै भएको पाइएन ।’

त्यसैले संक्रमणको दर घट्दै गइरहेको समयमा थप सजगता अपनाउन आवश्यक रहेको डा. पुनले बताउँछन् । पछिल्लो समय खोप लगाएका व्यक्तिमा समेत पुनः कोरोनाको संक्रमण देखिन थालेको छ । खोप लगाइसकेको भन्दै हेल्चेक्र्र्याइ गर्नाले खोप लगाएका व्यक्तिसमेत संक्रमित हुन थालेको डा. पुनले बताए । नेपालमा अझै पनि हजारको हाराहारीमा संक्रमित देखिने गरेको र कोरोनाविरुद्धको खोप लगाउन धेरै नागरिक बाँकी नै रहेकाले रिस्क धेरै रहेको उनले बताए ।

‘तिहारमा देउसी भैलो कराएर खेलिन्छ । मास्क लगाएर कराए कसैले सुन्दैन । मास्क लगाएर जालान जान त । तर त्यहाँ जोस र जाँगरमा उफ्रिन थालिन्छ,’ उनले भने, ‘फेरि देउसी खेल्दा गीत गाउँनै पर्‍यो । गीत गाउँदा मास्क लगाएर पनि के गीत गाउने भनेर ठुलो–ठूलो स्वरले कराउनु पर्ने होला यो सबै कारणले रिक्स धेरै रहन्छ । हामीले त जहाँसम्म देउसी भैलो नखेल्दा नै राम्रो भन्ने हो । तर मापदण्ड अपनाउने नअपनाउने कुरा आम नागरिकको हातमा छ ।’

देउसीको महत्त्व

तिहारको रौनक भनेकै देउसी भैलो र विभिन्न जनावरको पूजालगायत भाइटीका हो । तिहारका ५ दिन अलग–अलग किसिमका पूजा गरिने हुँदा सबै दिनको विशेष महत्व छ । अझ देउसी भैलोको रमाइलो बढी नै छ ।

लक्ष्मीपूजाको दिन साँझ घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ । भैलो विशेषगरी साना नानी र किशोरीहरू खेल्न जाने गर्छन् । लक्ष्मी पूजाको भोलिपल्ट भने देउसी खेलिन्छ । गोवर्द्धन पूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ ।

देउसी र भैलो पौराणिक कथनसँग जोडिएकाले पनि यसको विशेष महत्त्व छ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चल्दै आएको पाइन्छ । यसैले देउसीभैलोमा बलिराजाले पठाएको प्रसँग जोड्दै उनको गाथा गाउने गरिन्छ । ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ ।

भैली गाउँदा कतै लेग्रो तानेर भइलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने प्रचलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भएपनि देउसी र भैलो गाउँदा ठाउँ अनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा यसको महत्त्व अझ बढेको छ ।

देउसीभैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ । अरुले देउसी वा भैली रे भन्छन् । भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावलीसहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो सुुरु गर्छन् ।

श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन् । भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया