कुकुरका गलामा सयपत्री माला (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक १७ गते १४:१३
स्नेहा केयरमा कुकुरलाई पूजा गर्दै संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठ ।


काठमाडौं । आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइएको छ । यमपञ्चकको दोस्रो दिन आज घर-घरमा कुकुरको पूजा गरेर मनाइएको छ । आजको दिन कुकुरलाई मिठा–मिठा परिकार खुवाइ, फूलमाला लगाएर पूजा गर्ने प्रचलन रहँदै आएको छ ।

स्नेहा केयरमा कुकुरलाई पूजा गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।

हरेक वर्ष कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिँदै आइएको छ । नेपाल पञ्चांग निर्णायक समितिले बिहान ७ः१४ बजेपछि कुकुरको पूजा गर्ने साइत दिएको थियो । सोही अनुसार पूजा गरिएको छ ।

घरको सुरक्षाको निम्ति कुकुर पाल्ने गरिएको छ । नेपालको पहाडी भू–भागमा त एक घर एक कुकुर अनिवार्य जस्तै रहेको देख्न सकिन्छ ।

कुकुरलाई पूजा गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखाले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भुमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ । विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ ।

महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराएको नेपाल प्रहरी केनाइन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक डा. देउती गुरुङले बताए ।

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गर्दै नेपाली सेना ।

कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरु भेटेमा पहिलो अनुसन्धानमै कुकुर समावेश हुने भन्दै उनले अनुसन्धानमा कुकुरले निकै नै सघाउने गरेको उल्लेख गरे । कुनै घटना हुनासाथ सर्वसाधारणले समेत अनुसन्धानमा कुकुरलाई समावेश गराउन माग गर्ने गरेको उनले बताए ।

आफूहरुलाई सघाउने कुकुरहरुको पूजा गर्न पाउँदा खुशी लागेको अनुभूति उनले व्यक्त गरे । महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।

प्रतिक्रिया