‘कसैले चाहँदैमा एमालेलाई सिध्याउन सक्दैन’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा नेकपा एमाले सिध्याउन नसक्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई लषित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे । अध्यक्ष ओलीले कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट क्लिन स्विप गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे ।
उनले सत्र हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्त क्षेत्र, विकास क्षेत्र बनाउने बताए । अध्यक्ष ओलीले कुरुक्षेत्र बनाउने भनेर तर्साउन खोज्नेहरुलाई पराजित गरेरै यहाँसम्म आइपुगेको बताए ।
अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति लक्षित गर्दै प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए। उनले प्रचण्डलाई कुरुक्षेत्रको धाक नलगाउन पनि आग्रह गरे ।

प्रतिक्रिया