‘भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक जित्छन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् । नेपालका कम्युनिस्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।
‘पहिलो संविधानसभामा चारजना कम्युनिस्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’
उनले भ्रम फैलाउने प्रतियोगिता भए केपी ओलीले ओलम्पिक नै जित्ने ठोकुवासमेत गरे । नेता सिंहले भने, ‘कम्युनिस्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् केपी ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिस्टहरुले मात्रै सक्छन् ।’
नेपाल संवतका अवसरमा शुक्रबार बुद्धनगरमा आयोजित कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका छन् । नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरुको पर्दाभास भएको छ ।’
उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्ने बताए । ‘जनतालाई विश्वासमा दिलाउनुपयो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपयो । काम गर्न सजिलो छ र ?,’ नेता सिंहले भने ।


प्रतिक्रिया