कारण कीटनाशक, जोखिममा ‘सिजेरियन डेलिभरी’

काठमाडौं । किङ जर्ज मेडिकल युनिभर्सिटीका शोधकर्ताहरुको शोधअनुसार कीटनाशकको अनियन्त्रित उपयोगले सी-सेक्सन अर्थात् सिजेरियन डेलिभरीको जोखिम बढ्न सक्छ । शोधकर्ताहरुले यसका लागि कोशिकाहरुमा हुने क्षतिका कारण उत्पन्न हुने जटिलतालाई जिम्मेवार मानेका छन् ।
भनिन्छ- कीटनाशकका कारण शिशुको जन्म समयभन्दा पहिले हुन सक्छ भने नवजात शिशुको वजन सामान्यभन्दा कम हुन सक्छ । यसले पछि गएर शिशुको स्वास्थ्यमा गम्भीर नोक्सान पुर्याउन सक्छ । यो शोध जर्नल इन्भारमेन्टल रिसर्चमा प्रकाशित भएको छ ।
यो शोधका लागि गर्भावस्थामा रहेका २२१ जना स्वस्थ आमा र शिशुको गर्भनालको रगतको नमुनाको जाँच गरिएको थियो । यो शोधको निष्कर्षले के स्पष्ट पारेको छ भने समयभन्दा पहिले जन्मिने शिशुमा कम वजन र सी-सेक्सन डेलिभरीको प्रवृत्ति देखिन्छ ।
शोधकर्ताहरुका अनुसार नवजात शिशुमा कम वजनको समस्या कीटनाशकका कारण बढेको अक्सिडेटिभ क्षति तथा जिनो टक्सिसिटीको परिणाम हुन सक्छ ।
प्रतिक्रिया