मंगलबार, वैशाख १६, २०८२

‘यस्तो बिरुवा घरमा रोप्दा शुभ हुन्छ’

नेपालखोज २०७८ कार्तिक २२ गते ६:१८

काठमाडाैं । पृथ्वीभर नै बोटबिरुवाको धेरै नै महत्त्व छ । बोटबिरुवाले वातावरणलाई स्वच्छ बनाउँछ । तर कुनै-कुनै बिरुवा घरमा लगाउन हुन्छ भने कुनै-कुनै बिरुवा घरमा लगाउन हुँदैन ।

घरमा वरिपरि लगाइएका बोटबिरुवाहरुले सकरात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन् । घर वरिपरि राम्रो बोटबिरुवा लगाइयो भने सबै कुरामा सफलता मिल्छ ।

तर गलत बोटबिरुवा लगाइयो भने पारिवारिक झगडा, काममा असफलता, अस्वथता र आर्थिक अभाव जस्ता नकरात्मक कुरालाई निम्त्याउँछ । त्यसैले घर वरीपरी लगाउने बोट बिरुवाबारे जानी राख्नु आवश्यक हुन्छ ।

कुन-कुन बिरुवा घरको वरिपरि लगाउने त ?

१ . तुलसी

धार्मिक मान्यताअनुसार घरमा तुलसीको विरुवा हुनु अत्यन्त शुभ मानिन्छ । वास्तु तथा ज्योतिषिय शास्त्र अनुसार पनि घरमा तुलसीको विरुवा रोप्नु अत्यन्त लाभप्रद हुन्छ । तुलसी घरको अगाडि रोप्नुपर्छ ।

तुलसी घरमा रोप्दा कस्तो फाइदा हुन्छ त ?

– घरमा झगडा कम हुने विश्वास गरिन्छ ।
– छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मालिस गर्दा फाइदा गर्छ ।
– तुलसीको पातको रसमा ज्वानो मिसाएर खाँदा पेटको जुकालाई मार्छ ।
– तुलसीको पातको रस सुत्नुभन्दा अगाडि अनुहारमा लगाउँदा डन्डिफोरबाट छुटकारा मिल्छ ।
– कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।

२. मनी प्लान्ट

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ । धार्मिक मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ ।

वास्तुशास्त्रअनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ । मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ । कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन । उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा मनिप्लान्ट लगाउँनु अत्यन्तै अशुभ मानिन्छ ।

घरमा मनी प्लान्ट लगाउँदा के–के फाइदा हुन्छ त ?

–दाम्पत्य जीवनमा सुख हुन्छ ।
–मनी प्लान्ट जति हरियो र अधिक पातहरु हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ ।
–घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ
–मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ ।
–घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ ।
–मनी प्लान्टले डिप्रेसन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ ।

३. अमला

नेपालमा पाइने एक किसिमको फल हो । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । घरको उत्तर दिशामा अमला रोप्दा शुभ मानिन्छ ।

घरमा अमला रोप्दा हुने के–के फाइदा हुन्छ त ?

– प्रत्येक दिन एउटा अमला खानाले कब्जियत, ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।
– शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ ।
– किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैनन् ।
– दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् ।
– दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो । औषधीय गुणको घिउकुमारी आयुर्वेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुवैमा प्रयोग गर्न सकिन्छ । घरको अगाडि बाँया तिर घिउकुमारी रोप्दा घरमा सम्पती आर्जन हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

घरमा घिउकुमारी रोप्दा हुने के के फाइदा हुन्छ त ?

– अनुहार सम्बन्धि विभिन्न समस्या हट्छ ।
– सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्छ ।
– एलोभेराले रातको समयमा अक्सिजन दिन्छ ।
– अनिद्राको समस्या हटेर जान्छ ।

सुगन्धित फूलहरु

फूलहरु घर वरिपरि रोप्दा फूलेको फूल देख्दा मन नै आनन्द बनाउँछ । फूलले घरको वातावरण शुद्ध बनाउँछ र रोग लाग्दैन । फूल देवीदेवतालाई पनि प्रिय लाग्ने भएकोले धार्मिक दृष्टिकोणले पनि घरको वरिपरि फूल रोप्नु शुभ मानिन्छ । कुन दिशामा कुन फूल रोप्ने ?
घरको पूर्व दिशामा काँडा नभएको रातो फूल रोप्दा शुभ मानिन्छ ।

यस्तै पश्चिम दिशामा चमेली, घण्टीफूल, बाबरी, रातो केबरा, केराफूल, धूपी, मेथी, हलेदो, सयपत्री, सर्पगन्धा, लूँडे, चिरैतो, छत्तिवन, जटामसी, जेठीमधु, टिमुर, तितेपाती, द्रोणपुष्पी, कुश, उसिर, अश्वगन्धा लगायत फूल तथा वनस्पती लगायत रोप्न सकिन्छ ।

यस्तै उत्तर दिशामा भुँइचम्पा, सुनाखरी, मखमली, गोदावरी, कमल, सूर्यमुख, द्रोणपुष्पी, पारिजात, सुनाखरी, दूबो, तुलसी, तिल, जिरा, धनियाँ, बोझो, भृङ्गराज, भुइँअमला, सोमलता, बाकँुची, वरुण, मोथे, चम्पाचमेली, लाहुरे फूल लगायत रोप्न सकिन्छ । यस्तै, दक्षिण दिशामा लहरा हुने र कालो वा निलो वा हरिया लहारादार तथा सामान्य काँडा हुने फूल रोप्नु राम्रो मानिन्छ ।

यो दिशामा निल, शिरिष, गुलाफ, लगाउन सकिन्छ । यस्तै घरको दक्षिण दिशामा बेलपत्र नीम शमी अशोक पारिजात जस्ता बोट रोप्दा पनि शुभ मानिन्छ ।

सुगन्धित फूलहरु घर वरिपरि रोप्दा के फाइदा हुन्छ ?

– घरको वरिपरि सुगन्धित फूलहरु रोप्नाले फूलको बास्नाले सकरात्मक उर्जा ल्याउछ
– आर्थिक सम्पन्नता बढाउँछ ।

कस्तो बोटबिरुवा घरमा रोप्नु हुँदैन त ?

काट्दा दूध निस्कने र काँडा भएका बोटबिरुवा घरको नजिकै नलगाउँदा राम्रो हुन्छ । ठूला काँडा भएका बोटविरुवाबाट घरमा शत्रुभय हुने, दूधयुक्त वृक्षबाट धननाश र अनावश्यक फलयुक्त वृक्षबाट पीडा हुने हुन्छ ।

काँडायुक्त बोटविरुवाको बीचमा अशोक, नीम, मौलसिरी कटहरजस्ता वृक्ष भए यसको दोष नलाग्ने बताइन्छ ।

प्रतिक्रिया