भारतमा एकैदिन ११ हजार नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले आज जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयअनुसार पछिल्लो एक दिनमा १३ हजार २०४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या एक लाख ४२ हजार ८२६ रहेको छ । यो संख्या २६२ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै केरला राज्यमा देखिएको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा पनि सात हजार १२४ जना नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको मृत्यु भएको छ । रासस\एएनआई
प्रतिक्रिया