रसुवाको क्रियाशील सदस्यता विवाद समाधान

काठमाडौं । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । पार्टीको १४औं महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुंग्याएको हो ।
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुंगोमा पुग्न सकेको थिएन ।
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक\दुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगोमा पुग्ने बताए ।
रौतहट क्षेत्र नम्बर २, ३ र ४ को क्रियाशील सदस्यता टुंगिसकेको भए पनि क्षेत्र नम्बर १ को भने टुंगिन बाँकी रहेको कांग्रेसले जनाएको छ । रौतहटको तीनवटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगिएसँगै देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगो लागेको हो ।
कांग्रेसले पछिल्लो समय सदस्यता विवाद टुंगोमा पुर्याएको जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका समेत प्रकाशित गरिसकेको छ भने सोही जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ । कांग्रेसले १४औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्दैछ । रासस

प्रतिक्रिया