बिहीबार, जेठ ९, २०८२

किशोरावस्थाका छोराछोरीसँग कुराकानी !

नेपालखोज २०७८ कार्तिक २३ गते २०:१६

यदि तपाईं र तपाईंका किशोरावस्थाको छोराछोरीबीचको सम्बन्ध राम्रोसँग अगाडि बढिरहेको भए पनि वा चुनौतीपूर्ण रहेको अवस्था भए पनि आफ्नो ख्याल राख्दै उनीहरूलाई माया गर्नु, समस्या पर्दा सहयोग गर्नु महत्त्वपूर्ण हुन्छ ।

सुझाव १ : तपाईंको किशोरावस्थाका छोराछोरीलाई उनीहरूका भावना व्यक्त गर्न हौसला दिनुहोस् ।
-उनीहरूको अवस्था बुझ्ने गर्नुहोस्। उनीहरूको दिन कस्तो बित्यो र अचेल केमा व्यस्त छन् भन्ने कुरा सोध्नुहोस् । यसका लागि खाना बनाउन सहयोग माग्ने आदि उपाय लगाएर उनीहरूसँग केहीबेर कुराकानी गर्न सक्नुहुन्छ ।
-तपाईं सधैं उनीहरूको लागि हाजिर रहेको कुरा स्मरण गर्दै उनीहरूले जस्तोसुकै महसुस गरिरहेका वा सोचिरहेका भए पनि आफूलाई भन्न आग्रह गर्नुहोस् ।
-उनीहरूले असहज महसुस गरिरहेका भए पनि उनीहरूको भावना बुझ्नु र त्यसको कदर गर्नु महत्त्वपूर्ण हुन्छ। जस्तै- उनीहरूले आफ्ना भावना वा सोचाइ बताइरहँदा ‘मैले बुझें’ वा ‘तिमीलाई अप्ठ्यारो परेको छ जस्तो लाग्यो नि’ वा ‘त्यो कुरा सही हो’ भन्ने ।
-उनीहरूले तपाईंलाई मन नपर्ने क्रियाकलाप गरिरहेका छन् भने त्यो थाहा पाउन तपाईंलाई सजिलो हुन सक्छ । चाहे एकदमै साधारण किन नहुन्, उनीहरूले गरेका राम्रा काम याद गर्ने र तारिफ गर्ने कोसिस गर्ने।

सुझाव २ : तपाईंको किशोरावस्थाका छोराछोरीलाई सहयोग गर्नको लागि समय निकाल्नुहोस् ।
-बदलिँदो परिस्थितिसँगै उनीहरूका दैनिक कार्यसूची र पूरा हुने किसिमको दैनिक लक्ष्य तय गर्न सहयोग गर्नुहोस् ।
-किशोरावस्था भनेको स्वतन्त्रता पनि हो ! उनीहरूलाई आफ्नै किसिमले समय बिताउन पर्याप्त समय दिनुहोस् बढ्ने उमेरमा उनीहरूलाई आफ्नै किसिमले समय बिताउन मन लाग्नु सामान्य कुरा हो ।
-गृहकार्य, घरको काम वा अन्य क्रियाकलापहरूबाट केही समय विश्राम लिएर उनीहरूलाई रमाइलो लाग्ने काम गर्न हौसला दिन सक्नुहुन्छ । कुनै समस्या परेर उनीहरू निराश भएको समयमा यसो गर, उसो गर भन्नुभन्दा मिलेर उक्त समस्याको समाधान निकाल्नको सहयोग गर्नुहोस् ।

सुझाव ३ : तपाईं र तपाईंका किशोरावस्थाका छोराछोरीबीचको मतभेद समाधानका लागि काम गर्नुहोस् ।
-उनीहरूको विचार सुन्नुहोस् र शान्त भएर आफ्नो र उनीहरूबीचको मतभेदको समाधान निकाल्ने कोसिस गर्नुहोस् । याद राख्नुहोस्- उनीहरू पनि तनावमा छन् ।
-रिस उठेको समयमा कुनै पनि विषयमा छलफल नगर्नुहोस्। उनीहरू बसेको ठाउँबाट निस्किनुहोस् र शान्त हुनुहोस्- यसबारे उनीहरूसँग पछि कुरा गर्न पनि सक्नुहुन्छ ।
-शक्ति संघर्ष नगर्नुहोस् । अहिले विश्व नै अनपेक्षित समयमा गुज्रिरहेको समयमा किशोरकिशोरीले आफूलाई नियन्त्रण गर्न असहज महसुस गरिरहेका हुन सक्छन् र उनीहरूका लागि विकल्प पनि सीमित छन् । उनीहरूको इच्छा र भावनालाई दबाउनुभन्दा पनि अहिलेको असहज परिस्थितिमा काबुमा बस्ने कार्यमा उनीहरूलाई सहयोग गर्नुहोस् ।
-उनीहरूसँग इमानदार र पारदर्शी रूपमा प्रस्तुत हुनुहोस्- तपाईं आफैंले पनि तनाव महसुस गरिरहेको कुरा उनीहरूलाई भन्नुहोस् । तपाईंले गाह्रो समयमा कसरी आफैंलाई सम्हाल्नुभयो भन्ने कुराले उनीहरूलाई पनि हौसला प्रदान गर्छ ।
-कुनै मतभेद भएको समयमा तपाईं र उनीहरूसँग मिलेर त्यसको समाधान कसरी निकाल्न सकिन्छ भन्नेबारे कुराकानी गर्नुहोस् । यसो गर्नाले उनीहरूमा तपाईंको विचार प्रवाह कसरी भइरहेको छ भन्ने कुरा बुझ्छन् ।

सुझाव ४ : आफ्नो ख्याल राख्न समय लिनुहोस् ।
-अभिभावकहरूले गर्नुपर्ने काम धेरै हुन्छन् । तपाईं आफूलाई पनि स्याहार र सहयोगको आवश्यकता हुन्छ । आफ्नोबारेमा ख्याल गर्नुभयो भने किशोरावस्थाका छोराछोरीले पनि आफ्नो ख्याल गर्न सक्छन् ।
-यदि तपाईंलाई भारी महसुस भइरहेको छ भने अरूसँग सहयोगका लागि अनुरोध गरिहाल्नुहोस् । त्यस किसिमको महसुस हुनु सामान्य कुरा हो र त्यसको लागि परिवारका सदस्य वा अन्य विश्वासिलो व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ ।
-आफ्ना सम्बन्धहरूका लागि पनि समय लिनुहोस् र परिवारका अन्य सदस्यहरूलाई कसरी सहयोग प्राप्त गरेको र बुझेको अनुभव हुन्छ भन्नेबारेमा कुराकानी गर्नुहोस् । केही व्यक्तिहरूसँग आफ्ना भावना र अनुभवबारे कुराकानी गर्नुहोस् ।
-तपाईं एकदमै व्यस्त भए पनि या नभए पनि तनावको सामना तथा व्यवस्थापन गर्न दैनिक रूपमा केही गर्नुहोस् किन भने तपाईंको सुस्वास्थ्यका लागि यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
-तनाव व्यवस्थापन गर्न तपाईंलाई उपयुक्त हुने रणनीति अपनाउनुहोस् । जस्तै- साथीभाइसँग कुराकानी गर्ने, गर्नुपर्ने कामको सूची तयार पर्ने वा योजना बनाउने, समय तालिका र संरचनाअनुसार चल्ने, तपाईं केका लागि धन्य हुनुहुन्छ वा गर्व गर्नुहुन्छ, तपाईंलाई मन पर्ने कार्यमा संलग्न हुने, संगीत, कला, नृत्य, आफूले गरेका कार्यको अभिलेख राख्ने, आदि ।
स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया