नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडाैं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसाेसिएसनको उपाध्यक्ष पदमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृृत सुनिल केसी चयन भएका छन् ।
उक्त पदको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि आकाँक्षी भएपनि अन्तिम समयमा आएर केसी सर्वसम्वतरुपमा उपाध्यक्ष पदमा चयन भएका हुन् ।
संघको अध्यक्ष पदमा भने यसअघि नै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् ।
अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोधरुपमा अध्यक्षमा चयन भएका थिए ।
यसैगरी संघमा रिक्त रहेको दुई सदस्य पनि चयन भएका छन् । नेपाल क्रेडिट एन्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पुरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य पद खाली रहेको थियो ।
उक्त पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।
संघमा अन्य सदस्यहरुमा भने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, नेपाल एसबीआई बैकका प्रमुख कार्यकारी अधिकृत लिपकुमार डे, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत , कृष्ण बहादुर अधिकारी, एनआईसी एसिया बैकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा रहेका छन् ।
यसैगरी संघको सल्लाहकारहरुमा भने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना चयन भएका छन् ।
प्रतिक्रिया