मंगलबार, वैशाख ३०, २०८२

के-हो कम्प्युटर भिजन सिन्ड्रोम ?

डा. हेमराज कोइराला २०७८ कार्तिक २४ गते ११:०२

कम्प्युटर, मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयुक्त उपकरणहरूको दीर्घकालिन उपयोगले प्रयोगकर्ताहरूको आँखामा देखिने विशेष किसिमको स्वास्थ्य सम्बन्धी समस्यालाई चिकित्सकहरू कम्प्युटर भिजन सिन्ड्रोम भन्छन् । यो समस्या हुदाँ व्यक्तिको शारीरिक एवं मानसिक तन्दुरूस्ती चौपट हुनुका साथै उसको आर्थिक उपार्जन समेत प्रभावित हुन पुग्दछ ।

लामो समयसम्म कम्प्युटर मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयुक्त उपकरणहरूको स्क्रिनमा लामो समयसम्म काम गरेपश्चात यदि यी लक्षणहरू देखिन्छन् भने उसलाई कम्प्युटर भिजन सिन्ड्रोम भएको भन्न सकिन्छ ।

आखाँ पोल्ने , दुख्ने, रातो हुने, प्रारम्भिकचरणमा आँखाबाट आँसु बग्दै जाने तर पछि सुख्खा हुने, अगाडिको दृष्य धुम्मिएको जस्तो हुने, एउटै दृष्यलाई पनि दुईटा वा दुई भन्दा बढी देखिने, टाउको दुख्ने, ढाड, कमर, गर्दनमा पीडा हुने, मानसिक बेचैनी बढ्ने, शारीरिक रूपमा थकान महसुस हुने जस्ता लक्षण हुने गर्दछ ।

के कारणले हुन्छ ?

कम्प्युटर वा इलेक्ट्रोनिक स्क्रिनको प्रयोग गर्दा व्यक्तिको आँखा झिम्किने दर एकदम कम हुन्छ । यसरी आँखा कम झिम्किँदा आँखाको ओसिलोपन कमभई आँखा सुक्खा हुन पुग्छ । फलतः आँखा सुजन हुने, दुख्ने पोल्ने र रातो हुने जस्ता समस्या देखापर्छ ।

कम्प्युटरमा प्रदर्शित अक्षरहरु बीचमा चम्किलो र छेउछेउमा कम चम्किलो हुने हुँदा आँखालाई अक्षरमा केन्द्रित हुन अतिरिक्त जोड पर्ने हुँदा आँखा प्रभावित हुन पुग्छ ।

सामान्यतया आँखाको स्वास्थ्यको लागि आँखा तलमाथि नजिक टाढा दायाँ बायाँ लगातार गरिरहनुपर्ने हुन्छ तर इलेक्ट्रोनिक स्क्रिनमा काम गर्दा आँखाले यो गति गर्ने अवसर नै पाउँदैन । फलतः आँखाका मांसपेशीहरू आइवृत्तलाई एउटै पोजिसनमा बनाइराख्न झन् तनावग्रस्त भइरहनुपर्ने हुँदा आँखामा समस्या आउँछ ।

कम्प्युटर भिजन सिन्ड्रोमको कारण प्रयोगकर्ताको स्थिर आसन हो, जसले शरीर एवम् इन्द्रियहरुमा अतिरिक्त दबाब पुर्‍याउँछ ।

बच्ने उपायहरु

कम्प्युटरबाट उत्सर्जित प्रकाशको तिव्रतालाई सामान्य अवस्थामा बनाइ राखौं । तीव्र प्रकाशले चाँडै आँखा बिगार्छ ।

कम्प्युटरमा काम गर्दा एकोहोरो हेरिरहने बानी त्यागेर बेलाबेलामा तल माथि, दायाँ बायाँ र स्क्रिन भन्दा बाहिर पनि हेर्न गरौं ।

सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पल्ट सम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँच पल्ट सम्म मात्र हुन पुग्छ । तसर्थ हरेक चार सेकेन्डमा एकपल्ट आँखा झिम्क्याउने गरौं ।

कम्प्युटरमा काम गर्दा चस्मा लगाएर काम गर्ने गरौं, चस्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्छ ।

कम्प्युटरलाई पनि विशेष दुरीमा राखेर काम गर्ने गरौं । स्क्रिनलाई आँखा भन्दा १५ डिग्री माथि राखेर काम गर्ने गरौं ।

आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुइ घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने गरौं ।

लगातार कम्प्युटरमा काम गर्नेहरुले बीच-बीचमा ५ मिनेट आराम गर्ने गरौं ।

आँसु सुकेर आँखा सुक्खा हुँदै गएको खण्डमा कृत्रिम आँसुको प्रयोग गरौं ।

योगको त्राटक क्रियाले पनि आँखाको पावर बढाउन मद्दत पुर्‍याउँछ । यसर्थ, दक्ष गुरुबाट त्राटक क्रिया सिकेर नियमित गर्ने बानी बसालौं ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया