मंगलबार, वैशाख १६, २०८२

संक्रमणको उच्च जोखिममा नेपाल, परीक्षणलाई बेवास्ता

मीना साउँद २०७८ कार्तिक २४ गते १२:३८

काठमाडौं । जिका भाइरस विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो । गर्भवतीलाई यो भाइरसको संक्रमण भए गर्भपतन हुने वा नवजात शिशुको मस्तिष्कको विकास नहुने हुन सक्छ ।

जिकाका कारण कम मानिसको मृत्यु हुन्छ र सङ्क्रमित पाँच जनामध्ये एक जनामा मात्रै लक्षणहरू विकास हुने बताइन्छ । ज्वरो, छाला रातो हुने र जोर्नी दुख्ने केही लक्षण हुन् । सबैभन्दा सुरुमा सन् १९४७ मा युगान्डामा बाँदरमा यो भाइरस देखिएको थियो । मानवमा पहिलो सङ्क्रमण नाइजेरियामा सन् १९५४ मा देखापरेको थियो । त्यसपछि अफ्रिका, दक्षिणपूर्वी एसिया र प्यासिफिक आइल्यान्डमा पनि सङ्क्रमण देखिएको थियो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो भाइरस त्यसपछि सन् २०१५ मा पहिलोपटक ब्राजिलमा देखिएको थियो । यो भाइरस लागिसकेपछि नवजात शिशुको टाउको सानो हुने, स्नायूसँग सम्बन्धित समस्या हुने गर्छ । पहिलोपटक ब्राजिलमा देखिएको उक्त भाइरस दक्षिण अमेरिकी देशहरूमा फैलिँदै गएर झन्डै २०१७ तिर आइपुग्दा भारतमा पनि पहिलोपटक तीनवटा केस फेला परेको थियो । त्यसपछि फेरि २०१८ मा पनि भारतमा देखिएको थियो । पछिल्लो समय फेरि जुलाई महिनामा पनि भारतमा यसको संक्रमण पुष्टि भएको थियो ।

हाल भारतको उत्तरी प्रदेश राज्यमा यसको संख्या बढ्दै गएको डा. पुनले बताएका छन् । नेपालमा भने हालसम्म आधिकारिक रुपमा जिका भाइरस संक्रमण रहेको पुष्टि भएको छैन । यद्यपि, नेपालमा यसको परीक्षणहरू पनि खासै नभएको उनको भनाइ छ । परीक्षण नै नभएपछि यसको संक्रमण छ वा छैन भन्ने कुरा भन्न नसकिने डा. पुन बताउँछन् ।

उनले भने, ‘हाल भारतको उत्तर प्रदेश राज्यमा यसको संख्या बढिरहेको छ । त्यसले गर्दा नेपाल पनि यसको जोखिममा छ । यद्यपि, बोर्डरबाट मात्रै आउनुपर्छ भन्ने छैन । भारतमा देखिसकेपछि त नेपालमा हवाई मार्गबाट पनि आउन सक्छ । त्यसैले हामीले बेवास्ता चाहि गर्न हुँदैन ।’

भारतमा यसको संक्रमण बढ्दै गएको हुँदा यसको जोखिम नेपालमा पनि बढेको छ । नेपाल-भारत खुला बोर्डर भएका कारण उक्त भाइरस भारतबाट जुनसुकै बेला पनि नेपालमा फैलिन सक्ने जोखिम रहेको डा. पुनको भनाइ छ । त्यसैले पनि यो भाइरसबाट जोगिन नेपालमा पनि विशेष सजगता अपनाउन आवश्यक छ ।

नेपालमा बेवास्ता
निकै घातक मानिएको जिका भाइरस संक्रमणका बिरामी छिमेकी देश भारतमा बढ्दै गएसँगै नेपाल पनि जोखिममा परेको छ । तर हालसम्म नेपालमा यो भाइरस पत्ता लगाउन आधिकारिक रुपमा कुनै पनि परीक्षण हुन सकेको छैन् । डा. पुनले भने, ‘खुला सिमाना हुँदा भाइरस सहज रुपमा सर्न सक्ने सम्भावना छँदै छ त्यसमाथि नेपाल-भारतको हवाई मार्गबाट पनि प्रशस्त मात्रामा आवतजावत हुने भएकाले जोखिम त झन् जहिल्यै नै हुने गरेको छ ।’

उनका अनुसार स्वयं संक्रमितमा उच्च जटिलता जस्तै मृत्यु नै हुने अवस्था नभए गर्भवतीमा संक्रमण भयो भने जन्मिने बालबालिकामा समस्या आउने भएकाले यसमा ध्यान दिनुपर्दछ । उनले भने, ‘यसको लक्षण डेंगुसँग मिल्दोजुल्दो हुन्छ, त्यसैले मानिस झुक्किन सक्छन् तर यो अलि कडा हुँदैन । पछिल्लो समय डेंगु पनि देखिरहेको छ । त्यो भनेको लामखुट्टे पनि मजाले सक्रिय भइराखेको छ भन्ने बुझिन्छ ।’

जिका भाइरस संक्रमण कसरी सर्छ ?
यो भाइरस दिउँसो धेरै सक्रिय हुने एडिस लामखुट्टेको टोकाइबाट सर्छ । गर्भवती भएका बेला यो भाइरस संक्रमित आमाबाट बच्चामा सर्न सक्छ । भने संक्रमितसँगको असुरक्षित यौन सम्पर्कबाट र संक्रमित व्यक्तिको रगत लिँदा वा अंग प्रत्यारोपण गर्दा पनि यो भाइरस सर्न सक्छ ।

जिका भाइरस संक्रमणका लक्षणहरू के हुन् ?
जिका भाइरस संक्रमित धेरै व्यक्तिहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ । संक्रमित लामखुट्टेले टोकेको ३ देखि १४ दिनभित्र यी लक्षणहरू देखापर्छन् ।
-ज्वरो आउने
-आँखा रातो हुने वा सुन्निने
-अत्यधिक जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टाको)
-शरीरमा बिमिराहरू देखिने

भाइरस संक्रमण रोकथामका उपाय :
हालसम्म जिका भाइरसको कुनै उपचार उपलब्ध छैन । त्यसैले यसको रोकथामको एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । यसका साथै भाइरसबाट जोगिन यी उपायहरू पनि अपनाउन आवश्यक छ ।
-घरनजिकै पानी जम्मा हुन नदिने
-लामो बाहुला भएको लुगा मात्रै लगाउने
-सुत्ने बेलामा झुलको प्रयोग अनिवार्य गर्ने
-इन्सेक्ट रेपेलेन्ट्सको प्रयोग गर्ने
-सुरक्षित यौन सम्पर्क मात्रै राख्ने
-भाइरस फैलिएको क्षेत्रमा यात्रा नगर्ने

प्रतिक्रिया