गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रम हुँदै

काठमाडौं । २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज मनाइँदै छ ।
प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनको निष्ठाको राजनीति र योगदानलाई आज सम्झने दिन हो । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।
जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।
१९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ साल अघि नै जेल फोडेर भागेका गणेशमान सिंहले भारतमा अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकास गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेको बताइन्छ ।
प्रतिक्रिया