कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा, कुन दीर्घरोगीले पाउँछन् ?

काठमाडौं । चाडपर्वका कारण रोकिएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई सरकारले फेरि निरन्तरता दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको फाइजर खोप आगामी कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र मंसिर २७ गतेदेखि पुष ४ गतेसम्म दोस्रो मात्राको खोप लगाउने तयारी छ ।
खोप केन्द्र काठमाडौंमा वीर अस्पताल, बिरेन्द्र सैनिक अस्पताल छाउनी, सिभिल अस्पताल बानेश्वर, त्रि.वि शिक्षण अस्पताल महाराजगंज, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, पाटन अस्पताल लगनखेल, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर गएर लगाउन सकिने छ ।
त्यस्तै, प्रदेश नं १ मा मेची प्रादेशिक अस्पताल भद्रपुर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगरमा गएर लगाउन सकिने छ ।
त्यस्तै, प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल विरगंज, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाममा गएर खोप लगाउन सकिने छ ।
त्यस्तै, वाग्मती प्रदेशमा बीपी कोइराला स्मृती क्यान्सर अस्पताल भरतपुर, धुलिखेल अस्पताल धुलिखेलमा गएर लगाउन सकिनेछ । त्यस्तै, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, धौलागिरी अस्पताल वाग्लुङमा लगाउन सकिने छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, भेरी अस्पताल नेपालगंजमा गएर लगाउन सकिने छ ।
त्यस्तै, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल अमरगढीमा लगाउन सकिने व्यवस्था गरिएको छ । सरकारले कोरोनाविरुद्धको फाइजर खोप सुरक्षित र प्रभावकारी भएको हुँदा ढुक्कसँग लगाउन आग्रह गरेको छ । फाइजर खोपको दुवै मात्रा पुरा गरेमा ९५ प्रतिशत सम्म प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाइ सकेको हुँदा बिना हिचकिचाहट खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
खोपको प्रभावकारिताको विषयलाई लिएर गाउँ घरमा विभिन्न भ्रमहरु सिर्जना भएको भन्दै मन्त्रालयले कसैको हल्लाको पछि नलागि ढुक्क भएर लक्षित वर्गलाई खोप लगाउन अपिल पनि गरेको छ । केही समय पहिले खोप लगाएका केही व्यक्तिमा नकारात्क असर देखिएको भन्दै धेरैले खोप लगाएका थिएनन् । विश्व स्वास्थ्य संगठनले समेत अनुमति दिइसकेको समयमा खोपको प्रभावकारीको विषयमा कुनै पनि आशंका नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
फाइजर खोप सम्बन्धी अन्य तथ्यहरु
–यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्दछ ।
–यो खोपले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट समेत आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त गरिसकेको छ ।
–यो खोप १२ वर्षभन्दा माथिका उमेर समूहमा प्रयोग गर्न सकिन्छ ।
फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह
–मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरेका
–मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेका
–जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका
–फोक्सो सम्बन्धी रोगको औषधि उपचार गराइरहेका
–फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका
–अंग प्रत्यारोपण गरेका व्यक्ति
–उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइहेका व्यक्ति
–रोग प्रतिरोधात्क क्षमता कम भएको अवस्थाका व्यक्ति
–मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका व्यक्तिहरु







प्रतिक्रिया