मंगलबार, जेठ ७, २०८२

पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न सदस्यहरुलाई अपिल

नेपालखोज २०७८ कार्तिक २४ गते १८:३३

काठमाडौं । नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । सोही खातामा सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले यस अघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ । त्यसले पार्टीको महाधिवेशनको खर्च पु¥याउन सकिन्छ ।

बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ, जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ ।

यो उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरु सहभागी हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तिमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरुबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताए । बैठकले कार्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रिय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ ।

प्रतिनिधिहरुका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरुमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ । बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ ।

इलेक्ट्रोनिक सञ्चार माध्यामहरुको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए । बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरुलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया