बुधबार, वैशाख १२, २०८१

राष्ट्रिय जनगणना भविष्यको मार्गचित्र !

नेपालखोज २०७८ कार्तिक २५ गते १४:००

विकासका लागि अत्यावश्यक आधारभूत तथ्यांक बटुल्ने राष्ट्रिय जनगणना आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ प्रारम्भ भएको छ । यो हाम्रो भविष्यसँग जोडिएको एउटा गम्भीर कुरा हो । राज्यसँग भएको तथ्यांकका आधारमै हाम्रा भोलिका योजना तय हुनेदेखि आवश्यकताहरु निर्धारण हुनेसम्मको काम हुने हुँदा राष्ट्रिय जनगणना सर्वाधिक महत्त्वको अभियान हो जसमा राज्यका तर्फबाट पर्याप्त गम्भीरताको अपेक्षा गरिन्छ भने यसमा आमनागरिकको उत्तिकै सक्रिय सहभागिता चाहिन्छ ।

विकास-निर्माणदेखि लिएर आवश्यकताहरुको पहिचान, लक्षित समुदायको खोजी आदि हरेक कुरामा तथ्यांक खोजिने र त्यही तथ्यांकका आधारमा समाधान पहिल्याइने हुँदा पनि आधुनिक संसारमा यसको ठूलो महत्त्व छ । तर यसमा तथ्यांक बटुलेर मात्र हुँदैन सही तथ्यांकको पनि उत्तिकै अपेक्षा गरिन्छ । भनिरहनु पर्दैन गलत तथ्यांकले भोलिको सारा कामकारबाहीलाई नै दिग्भ्रमित तुल्याउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनामा सहभागी हुन जारी गरेको अपिलमा भनिए झैं सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हामी सबैको कर्तव्य हो । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्छ ।

राष्ट्रिय जनगणनालाई महाअभियान वा महायज्ञ नै मान्न सकिन्छ । देशको आधारभूत तथ्यांक बटुल्ने यो काममा सबै तह, तप्का, समूह-समुदाय, वर्ग, क्षेत्र आदिको अनिवार्य सहभागिताको अपेक्षा गरिन्छ । यसका लागि सम्बन्धित निकायलाई हामी सबैले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने हुन्छ । किनभने यो हामी सबैको भविष्यसँग प्रत्यक्ष जोडिएको कुरा हो ।

प्रत्येक १० वर्षमा हुनुपर्ने राष्ट्रिय जनगणना यसपटक केही ढिलो गरी हुन लागिरहेको छ । जनगणनाको यो काम निकै खर्चालु पनि छ । ११औं जनगणनामा करिब डेढ अर्ब खर्च भएको तुलनामा यसपटकको १२औं जनगणनामा चार अर्ब खर्च हुने अनुमान गरिएबाटै यसको भार अनुमान गर्न सकिन्छ । देशले यति ठूलो खर्च गरेर सञ्चालन गरेको अभियानको महत्त्व, आवश्यकता र ओैचित्य यसैबाट पनि पुष्टि हुन्छ ।

नेपालको यो राष्ट्रिय जनगणनाको विशेष महत्त्व किन पनि छ भने यो गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना हो । यसले हामीलाई आफ्नो देशको यथार्थ विवरण प्रस्तुत गर्ने वा हाम्रो वास्तविकता चित्रण गर्ने अपेक्षा राख्नु अनुचित होइन ।

राष्ट्रिय जनगणनामा विगतमा देखिएका लापरबाहीहरु यसपटक दोहोरिने छैनन् भन्ने चाहना हामी सबैको हुनु स्वभाविक हो । सबै पक्षले गम्भीरतापूर्वक यो अभियान चलाउनु तथा यसमा सहभागिता जनाउनु, सहयोग पुर्‍याउनु हाम्रो देशकै भविष्यका लागि सही मार्ग पहिल्याउनु हो ।

प्रतिक्रिया