बिहीबार, वैशाख १३, २०८१

कांग्रेस कार्यसमितिका कुरा !

पार्टीको यो सफल प्रजातान्त्रिक अभ्यासले कांग्रेसको जीवनमा नयाँ रक्तसञ्चार गर्नेछ भन्ने आशा गर्नु अनुचित होइन ।

नेपालखोज २०७८ पुष ५ गते १६:०६

अन्ततः लामो समयको विवाद, बहस, संशय र अन्योलपछि नेपाली कांग्रेसको १४औं महाअधिवेशन आगामी चार वर्षका लागि नयाँ नेतृत्व छान्दै सफलतापूर्वक सम्पन्न भएको छ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको समग्र खाका आउन बाँकी नै रहे पनि यसपटक पार्टीको केन्द्रीय समितिमा नयाँ अनुहारको बाहुल्य रहने प्रस्ट भइसकेको छ । त्यसमा पनि युवाहरुको उल्लेख्य उपस्थितिले कांग्रेसमा रुपान्तरणतर्फको संकेत देखिन्छ ।

कांग्रेसको यो नयाँ नेतृत्वले पार्टीलाई कस्तो दिशा दिने हो कार्यव्यवहारले देखाउने कुरा हो । अहिलेलाई नयाँ कार्यसमितिमा निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना ।

सहमतिका नाममा पार्टी अध्यक्षको खल्तीबाट केन्द्रीय कार्यसमितिका पदाधिकारिहरुको सूची जारी गर्ने नेकपा एमालेको उदाहरणविपरीत खुला निर्वाचनमार्फत नेतृत्व छनोट गरेर कांग्रेसले आफूलाई पुन: एकपटक प्रजातान्त्रिक पार्टी मात्र सिद्ध गरेको छैन आन्तरिक लोकतन्त्रको अभ्यासमा आफूलाई खरो रुपमा उभ्याएको छ ।

कांग्रेसको यो कार्यसमितिका सामु अनेकौं चुनौती र समस्या छन् । अहिले तत्काल नयाँ पदाधिकारिहरुका बारेमा कुनै टिकाटिप्पणी गरिहाल्नुभन्दा ती समस्या र चुनौतीहरुविरुद्ध कार्यसमितिले बनाउने रणनिति र त्यसको परिणाम पर्खनु उचित हुन्छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बताए झैं कांग्रेसलाई आगामी स्थानीय तथा संसदीय निर्वाचनमा सफल बनाउने दायित्व एवं प्रमुख भूमिका पनि यही नेतृत्वमाथि छ । पार्टीलाई एकताबद्ध र सुसंगठित गरेर लानुपर्ने दायित्व पनि यही नेतृत्व माथि छ । त्यति मात्र होइन बदलिँदो परिस्थितिमा मुलुकका समस्या अनि चुनौतीहरु समाधान गर्दै मुलुकलाई नयाँ दिशा र गति दिनुपर्ने जिम्मेवारी पनि कांग्रेस नेतृत्वकै काँधमा छ ।

कांग्रेसको यो सफल प्रजातान्त्रिक अभ्यासले कांग्रेसको जीवनमा नयाँ रक्तसञ्चार गर्नेछ भन्ने आशा गर्नु अनुचित होइन । कांग्रेसको यो महाधिवेशनले यसका नेता-कार्यकर्ताहरुलाई पार्टी एकता र सुदृढ कांग्रेसको सन्देश दिएको छ । पार्टी महाधिवेशनको निर्वाचनका तीतामीठा कुरा अब बिस्तारै पुराना र विस्मृतिमा हाल्नुपर्ने हुनेछन् भने पार्टीका अगाडि एउटा खुला मैदान वा राजमार्ग छ यसमा कसरी खेल्ने वा दौड्ने हो त्यो नेतृत्वमा आएकाहरुको विवेक र वर्कतमा भर पर्ने कुरा हो । देशको जिम्मेवार प्रजातान्त्रिक शक्तिका रुपमा मुलुकलाई नै अघि बढाउने कुरामा कांग्रेसले खेल्नुपर्ने भूमिका निकै गहन छ । यसलाई मनन गर्दै कांग्रेस फेरि पनि आन्तरिक किचलो र मतभेदमा फसेर गतिहीन अवस्थामा नपुगोस् भन्ने कामना गर्नु पनि अस्वभाविक होइन ।

नयाँ, पुराना र पाकाहरुको समिश्रणका साथै समावेशी भएको कांग्रेसको यो कार्यसमितिले नयाँ नेपालको चाहना र आकांक्षा पूरा गर्ने दिशामा मुलुकका सबै प्रमुख शक्तिहरुसँग सहकार्य गरेर अघि बढी देशको आर्थिक विकासको प्रमुख आवश्यकता र चाहनालाई मूर्तरुप दिन सकोस्, फेरि पनि शुभकामना ।

प्रतिक्रिया