शनिबार, वैशाख १५, २०८१

माओवादी केन्द्रको अधिवेशनले दिने सन्देश

नेपालखोज २०७८ पुष ११ गते १४:१६

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन त्यस्तो बेला प्रारम्भ भएको छ जतिबेला यो पार्टी तुलनात्मक रुपमा कमजोर साबित हुँदै गएको छ । लामो सशस्त्र द्वन्द्वपछि आफ्ना केही महत्त्वपूर्ण एजेन्डा राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरणपछि अनेकौं आरोह-अवरोहहरुबाट गुज्रिएर यो अधिवेशनसम्म आइपुगेको हो । यी सबै आरोह- अवरोहहरुको साक्षी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वयं हुन् किनभने उनी ३४ वर्षदेखि अविछिन्न रुपमा पार्टीको नेतृत्वमा छन् ।

‘जनयुद्ध’को नेतृत्वदेखि खुला राजनीतिको पन्ध्र वर्षबीच वाग्मतीमा धेरै पानी बगिसकेको छ । यसबीच माओवादी केन्द्र सत्तामा मात्र पुगेको छैन पटक-पटक विभाजनको सिकारसमेत भएको छ । एमालेसँगको पार्टी एकता र फेरि विभाजनको अनुभव पनि गरिसकेको यो पार्टीको यो आठौं महाधिवेशनमा ती महत्त्वपूर्ण सारथिहरु देखिने छैनन् जसले यो पार्टी निर्माणमा बलिदानी र योगदान दिएका छन् । किनभने तिनले पहिले नै पार्टी परित्याग गरी अर्कै बाटो रोजिसकेका छन् ।

बारम्बारको विभाजनकै कारण अहिले माओवादी केन्द्र थाकेको र आफैंसँग पराजित सिपाही जस्तो भएको छ । सत्ताको खेलले यो पार्टीलाई जनताबाट टाढा पनि पुर्‍याएको छ भने पार्टीले राष्ट्रिय एजेन्डा बोक्ने र जनताको कुरा उठाउने कुरामा समेत कमी-कमजोरी देखिएको छ । सम्भवतः यिनै कुरा महसुस गरेर पार्टी अध्यक्ष दाहालले अब फेरि एकपटक निर्मम ढंगले पार्टी निर्माणमा लाग्ने कुरा बताएका छन् ।

डेढ दशकअघि सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि माओवादी नेपाली राजनीतिको प्रमुख शक्तिका रुपमा उदाएको थियो र पार्टीको केन्द्रमा थिए प्रचण्ड । २०६४ को संविधानसभामा प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जितेर माओवादी संसदीय राजनीतिमा आएको थियो । अहिले त्यो इतिहास भइसकेको छ । डेढ दशकदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अहिले राजनीतिमा प्रभावशाली त छन् तर उनको भूमिका ‘किङमेकर’ को जस्तो मात्र छ ।

माओवादी पार्टीको कार्यनीति र कार्यदिशामा के- कस्ता चुक भए पार्टीलाई अब फेरि पुनर्जीवन दिन के गर्नुपर्छ जस्ता सबालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनले आवश्यक छलफल बहस आदि गरेर आगामी बाटो तय गर्ने नै छ । त्यसका साथै पार्टीले आगामी दिनको नेतृत्वसमेत चयन गर्नेछ जसमा खासै ठूलो परिवर्तनको अपेक्षा गरिएको छैन ।

माओवादी केन्द्रको यो अधिवेशनले शान्तिप्रक्रियायताको समीक्षा गर्ने, विचार संश्लेषण गर्ने तथा नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने बताइएको छ । यो अधिवेशनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी, बाबुराम भट्टराईलगायतका नेता तथा दलसँग पार्टी एकताको वैचारिक आधार खडा गर्ने विश्वास पनि लिइएको छ । माओवादी केन्द्रले वैज्ञानिक समाजवाद, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचनमा जोड दिने पनि बताइँदै छ ।

त्यस्तै, ‘जनयुद्ध’का सहिद, घाइते, बेपत्ता कार्यकर्ताप्रति गरिएको बेवास्ताप्रति पार्टीले आत्मालोचनासमेत गर्नसक्नेछ । यी सबैका बीच अहिले प्रचण्डको ध्यान माओवादी आन्दोलनका सहयात्री शक्तिलाई एक ठाउँ ल्याउनुका साथै अन्य वाम दलहरुसँग एकता गरी पार्टीलाई २०६४ सालकै स्थितिमा फर्काउने कुरामा केन्द्रित छ जसका लागि यो अधिवेशन महत्त्वपूर्ण कोशेढुंगा साबित हुनेछ ।

अन्त्यमा, नेकपा माओवादी केन्द्रको यो अधिवेशनको सफलताको कामना गर्दै पार्टीले भावी दिनमा नेपाल र नेपाली जनताको सकारात्मक रुपान्तरणमा सिर्जनात्मक भूमिका निर्वाह गर्ने नै छ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ।

प्रतिक्रिया