शुक्रबार, चैत १६, २०८०

प्रेसको दुरुपयोग रोक्ने कसले ?

नेपालखोज २०७७ साउन २६ गते १९:२१

कोभिड–१९ का कारण सरकारले गरेको लकडाउनको समयमा अत्यधिक दुरुपयोग भएको क्षेत्र हो प्रेस । राज्यको चौथो अंगका रुपमा रहेको प्रेसको कसरी दुरुपयोग भईरहेको छ भन्ने कुराको पुष्टि लकडाउनका समयमा स्पष्ट देखिएको छ । प्रेसको ज्याकेट भिरेर वा सवारी साधनमा प्रेस लेखेकै भरमा चौथौ अंगको मानमर्दन गर्ने काम गरेको पाइन्छ ।

हुन त यतिखेर नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी सदस्यता नविकरण गर्ने विषयको चर्चा पनि चलिरहेको छ । यही प्रसंगमा गैरपत्रकारहरुलाई पत्रकार महासंघबाट अलग्याउनु पर्दछ भन्ने एकथरीको आवाज आईरहेको छ भने अर्कोथरी कसरी निर्वाचित हुन सकिन्छ भन्ने नाममा गैरपत्रकारलाई सदस्यता दिनेहरुको सख्या पनि बढी छ ।

लकडाउनका समयमा प्रेसको कार्ड भिरेर चोरी गर्दा गर्दै पक्राउ परेको समाचार अझै पनि ताजै छ । प्रेसको ज्याकेट भिरेर वा सवारी कुदाएर अन्य व्यापार गरिरहेका उदाहरणहरु हामीले लकडाउनका समयमा देखेका छौं ।

यो परिवेशमा सरकारले सवारी साधनका लागि गरेको जोर विजोर प्रणालीलाई समेत मध्यनजर गर्ने हो भने काठमाडौं उपत्यकामा अत्यधिक प्रेसधारीहरु सडकमा देख्न सकिन्छ । जसले नेपाली प्रेस जगतको बदनाम गरिरहेको छ ।

अहिलेको विषम परिस्थितिमा सवैभन्दा पहिले प्रेसको दुरुपयोग रोक्नु आवश्यक छ । प्रेसको दुरुपयोग रोक्ने आधिकारिक निकाय को हो त ? भन्ने प्रश्न पनि उब्जिएको छ । त्यसका लागि पेशागत संस्थाका रुपमा रहेका नेपाल पत्रकार महासंघ, न्यायिक संस्थाका रुपमा रहेको प्रेस काउन्सिल नेपाल, पत्रकार परिचयपत्र जारी गर्ने सरकारी संस्था सूचना विभागलगायत सञ्चारसँग आवद्ध संघसंस्थाहरुले पनि आफ्नो पेशागत मर्यादालाई कायम गर्नका लागि पछिल्लो समयमा देखिएको प्रेसको दुरुपयोगलाई रोक्नेतर्फ पहल गर्ने कि ?

प्रतिक्रिया