शुक्रबार, वैशाख १४, २०८१

खुरुक्क राजीनामा देऊ ।

नेपालखोज २०७८ कार्तिक २६ गते १७:२५

अहिले नेपालको न्यायपालिका आफ्नो इतिहासकै अभूतपूर्व क्षणबाट गुज्रिरहेको छ । सम्भवत: देशका प्रधानन्यायाधीशले पनि इतिहासमै यति ठूलो विरोध, आलोचना र आन्दोलन खेप्नुपरेको छ । यी सबै कुराको कारण अरु केही वा कोही होइन स्वयं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हुन् । यसको केन्द्रमा उनै छन् र जिम्मेवार पनि उनी स्वयं नै हो । अहिले देशका प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीहरुको संगठन बार एसोसिएसन मात्र आन्दोलित छैन स्वयं प्रधानन्यायाधीशका सहकर्मी न्यायाधीशहरु पनि आफ्नै प्रकारले असहयोग वा सत्याग्रहमा होमिएका छन् ।

त्यति मात्र होइन नेपालका कहलिएका केही पूर्वप्रधानन्यायाधीशहरुसमेत वर्तमान प्रधानन्यायाधीशविरुद्धको यो अभियानका पक्षमा देखिन्छन् । नागरिक समाजका बुद्धिजीवीहरुसमेत प्रधानन्यायाधीश जबराको क्रियाकर्मको खिलाफमा पाइन्छन् । एक हिसाबले हेर्दा अहिले प्रधान न्यायाधीशविरुद्ध न्याय क्षेत्रमा अभूतपूर्व एकजुटता देखापरेको छ ।

यो परिदृष्य पछाडिको कारण बाहिरी आवरणभन्दा भयानक र गम्भीर देखिन्छ । किनभने प्रधानन्यायाधीश जबरा अहिले निकै गम्भीर र संगीन आरोपहरुले घेरिएका छन् । जुन सडक, राजनीतिक तह वा कुनै एक सञ्चारमाध्यमले लगाएको आरोप होइन । स्वयं न्याय क्षेत्रबाट उठेको आवाज हो र विषय छ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय क्षेत्रलाई नै कलंकित तुल्याउने गरी गरेको भ्रष्टाचारको । यसका लागि एक होइन, दुई होइन दर्जनौं घटना र उदाहरण प्रस्तुत गरिएका छन् ।

आफूमाथि संगीन आरोप लागिसकेपछि स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्नु प्रजातान्त्रिक विधि मात्र होइन नैतिकताको कुरा पनि हो । यद्यपि प्रधानन्यायाधीश राणाले अहिलेसम्म यी दुवै कुरा देखाएका छैनन् जुन निकै दुर्भाग्यपूर्ण कुरा हो । एउटा व्यावसायिक न्यायमूर्तिबाट सामान्यतः यस्तो अपेक्षा गरिँदैन ।

प्रधान न्यायाधीशकै कारण अहिले सिंगो न्याय क्षेत्र बिथोलिएको छ भने आमजनतामा समेत यसले नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । आज महिनौं दिनदेखि सर्वोच्च अदालतको काम-कारबाही अवरुद्ध छ भने सर्वोच्चका न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलास बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । नेपाल बार एसोसिएसनले त चरणबद्ध रुपमा आफ्नो आन्दोलनलाई अझ कडा पार्दै लगेको छ ।

अहिले प्रधानन्यायाधीश जबराका सामु सीमित विकल्प मात्र बाँकी छन् जसमा आफूमाथि लगाइएका आरोपहरुको छानबिनका लागि मार्ग प्रशस्त गर्ने बाटो नै प्रजातान्त्रिक र मर्यादित बाटो हो । यसमा पनि हठ गरेर जिद्दी गरिरहने हो भने प्रधानन्यायाधीश जबराले इतिहासकै सर्वाधिक कलंकित प्रधानन्यायाधीशका रुपमा आफ्नो बहिर्गमन रोज्नेछन् ।

यो राजनितिक क्षेत्र होइन तसर्थ यो क्षेत्रका आफ्नै नियम र मर्यादाहरु छन् । यसलाई जनताले पनि त्यसरी नै हेरिरहेको हुन्छ । तर स्वयं प्रधानन्यायाधीशले नै ती सारा नियम, मर्यादा तोड्ने हो भने भोलि न्यायपालिका त आफ्नो नियमित कोर्समा फर्कन्छ तर प्रधानन्यायाधीशका रुपमा राणाको अनुहारमा दलिएको कालो कुनै पनि साबुनले पखालिने छैन ।

यो मामिलामा संसद्‌ले लामो समय मौन रहन सक्ने अवस्था अहिले देखिँदैन भने राजनीतिक दलहरुसमेत यसमा सधैं निरपेक्ष बस्न मिल्दैन । किनभने न्यायपालिकाको यो बेथितिका बारेमा भोलि जनताले प्रश्न सोध्ने उनीहरुसँगै हो । स्थिति न्यायपालिका परिसरबाहिर नजाओस् र थप व्यक्तिगत क्षति नहोस् भन्ने हो भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले खुरुक्क राजीनामा दिएर वैधानिक मार्ग प्रस्तुत गर्नुको विकल्प छैन ।

प्रतिक्रिया