युरोपमा बौरियो कोरोना !

काठमाडौं । कोरोना महामारीले युरोपमा एकपटक फेरि विनाश निम्त्याइरहेको छ । युरोपियन युनियनका केही देशमा कोभिड-१९ को बढ्दो बिरामीका कारण लकडाउनको आशंका बढेको छ । ती देशहरुमा क्रिसमससम्मका लागि लकडाउन लगाउने विषयमा छलफल भइरहेको बताइएको छ । विज्ञहरु केवल भ्याक्सिनको भरमा कोरोना भाइरसमाथि नियन्त्रण कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरामा पनि केन्द्रित भएका छन् । जाडो मौसम सुरु हुनुभन्दा पहिले नै देखापरिरहेको कोरोना संक्रमितहरुको ग्राफले युरोपमा चिन्ता थपिरहेको छ ।
युरोपियन इकोनोमिक एरिया (EEA) जसमा युरोपियन युनियन, आइसल्यान्ड र नर्वे छन् । यी मुलुकहरुमा करिब ६५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज पाइसकेको अवस्था छ । यद्यपि त्यहाँ पछिल्ला महिनामा भ्याक्सिनेसनको रफ्तारमा कमी आएको बताइन्छ । अहिले २७ सदस्यीय युरोपियन युनियनका १० वटा देशमा कोभिड- १९ महामारीले चिन्ताजनक स्थिति सिर्जना गरेको छ । युरोपियन सेन्टर फर डिजिजद्वारा तयार पारिएको रिपोर्टअनुसार बेल्जियम, बुल्गेरिया, क्रोएसिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रिस, हंगेरी, नेदरल्यान्ड , पोल्यान्ड र स्लोभेनियाको स्थिति निकै खराब हुँदै गएको छ ।
कहाँ कस्तो छ अवस्था ?
नेदरल्यान्ड : नेदरल्यान्डमा लागु गरिएको तीन साता लामो आंशिक लकडाउनका क्रममा बार तथा रेस्टुरेन्ट बन्द गरिँदै छ भने खेलकुदका प्रतियोगिताहरु पनि बिनादर्शक सञ्चालन हुनेछन् । पश्चिम युरोपमा गर्मी सिजनपछि लगाइएको यो पहिलो लकडाउन हो ।
जर्मनी : यहाँ आज (शनिबार) देखि फेरि कोभिड टेस्ट सुरु गरिँदै छ । जर्मनीका कार्यकारी हेल्थ मिनिस्टर जेन्स स्पाहनका अनुसार अब सार्वजनिक स्थानहरुमा फेस मास्क र सोसल डिस्टेन्स अनिवार्य गरिएको छ । यो नियम मार्च महिनासम्म जारी रहनेछ ।
अस्ट्रिया : अस्ट्रियाको सरकारले भोलि (आइतबार) देखि खोप नलगाउनेहरुका हकमा लकडाउन लागु गर्नसक्ने बताइँदै छ । हिजो (शुक्रबार) अस्ट्रियाका चान्सलर अलेक्जेन्डर स्यालेनबर्गले यस विषयमा संकेत पनि गरेका छन् ।
लाटभिया : यहाँ भ्याक्सिनेसनको रफ्तार बढाउने कुरालाई प्राथमिकतामा राखिएको छ । लाटभिया युरोपियन युनियनको त्यस्तो देश हो जहाँ निकै कम मानिसले खोप लगाएका छन् । यहाँ मध्य अक्टोबरमै एक महिना लामो लकडाउन घोषणा गरिएको थियो ।
चेक रिपब्लिक, स्लोभाकिया तथा रसिया : चेक रिपब्लिक, स्लोभाकिया र रसियामा पनि कोभिडको महामारी बढ्न थालेपछि प्रतिबन्धहरु कडा पारिएका छन् । चेक सरकारले कोरोना नियन्त्रणका लागि थप नियमहरु लागु गर्नुपर्ने कुरामा जोड दिइरहेको छ ।
नर्वे : नर्वे सरकारले हिजो (शुक्रबार) एक घोषणामार्फत कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न पूरै देशमा विभिन्न नियम तथा प्रतिबन्ध लागु गरेको छ । प्रधानमन्त्री जोनस गहरले प्रेस कन्फ्रेन्समा बताएअनुसार नर्वेमा हेल्थ पास प्रणाली लागु गरिएको छ भने १८ वर्षमाथिका सबैलाई भ्याक्सिनको तेस्रो डोज दिने प्रस्ताव गरिएको छ । यद्यपि त्यहाँ फेरि लकडाउन लगाउने कुरा भने नकारिएको छ ।
आइसल्यान्ड : आइसल्यान्डमा बितेको साता कोरोनाले नयाँ रेकर्ड बनाएपछि हिजो (शुक्रबार) देखि नियमहरुमा कडाइ ल्याइएको छ । यहाँ महिना दिनभित्रै दोस्रोपटक प्रतिबन्धहरु बढाइएको छ । आइसल्यान्डमा स्विमिङ पुल र स्पोर्ट्स कम्प्लेक्सहरु ७५ प्रतिशत क्षमतामा मात्र चलाउन पाइन्छ ।
भ्याक्सिन पासपोर्ट र फेस मास्क अनिवार्य
कोरोनाको बढ्दो संक्रमणसँग भ्याक्सिनको भरमा लामो लडाइँ लड्न नसकिने विज्ञहरुले बताउन थालेका छन् । इटलीको युनिभर्सिटी अफ पाडुआका इम्युनोलोजीका प्रोफेसर एन्टोनेला विलोआ भन्छन्- महामारीको यो स्थितिमा हामीले इजराइलबाट धेरै कुरा सिक्न सक्छौं । उनका अनुसार इजरायलमा भ्याक्सिनको बुस्टर डोजका अतिरिक्त सार्वजनिक स्थानमा सोसल डिस्टेसिङ र मास्क अनिवार्य गरिएको छ । यसमा कुनै पनि दुई कुरा पालन नगरे स्थिति फेरि खराब हुनसक्छ । यसको उदाहरण अहिले युरोपियन देशमा बढ्दै गएको कोरोना संक्रमण हो ।
भ्याक्सिनमा सन्देह तथा कमजोर इम्युनिटी समस्याको अर्को कारण
न्युज एजेन्सी रोयटर्सका अनुसार युरोपमा एक साताभित्रै कोरोना संक्रमण एक्कासि वृद्धि भएको छ भने यसबाट ज्यान गुमाउनेहरु पनि बढेका छन् । दक्षिण युरोपमा ८० प्रतिशत मानिसले भ्याक्सिन लगाएका छन् भने मध्य तथा पूर्वी युरोप अनि रसियामा भ्याक्सिनप्रति देखिएको सन्देहका कारण सन्तोषजनक भ्याक्सिनेसन हुन सकेको छैन । यही कारणले पनि कोरोनाले फेरि शिर उठाउने मौका पाएको छ । त्यसका अतिरिक्त कमजोर इम्युनिटी र प्रतिबन्धहरुमा दिइएको छुटका कारण पनि युरोपमा कोरोना बौरिएको बताइन्छ ।
मृत्युमा १० प्रतिशत वृद्धि
वर्ल्ड हेल्थ अर्गनाइजेसनले नोभेम्बरको पहिलो साता दिएको रिपोर्टअनुसार रुससहितको युरोपमा संसारका अन्य भागको तुलनामा सबैभन्दा बढी कोरोनाका बिरामी देखा परे । उक्त क्षेत्रमा संक्रमणमा ७ प्रतिशत वृद्धि देखिएको थियो भने अन्य क्षेत्रमा स्थिति स्थिर देखियो वा कतै त संक्रमण घटेको पाइयो ।
यसैगरी युरोपमा मृत्युदरमा पनि १० प्रतिशतले वृद्धि दर्ता गरियो जबकि संसारका अन्य क्षेत्रमा मृत्युदरसमेत घटेको छ । विकसित हुँदै गएको यो नयाँ परिस्थितिले युरोपका सरकारहरु तथा उद्योग-व्यवसायलाई आर्थिक चिन्तामा समेत पारेको छ । त्यसैले पनि युरोपका कतिपय देशले कोरोना संक्रमण रोक्ने दिशामा आफ्नो कदम तीव्र बनाएका छन् ।
भ्याक्सिनको बुस्टर डोजमा जोड
युरोपियन युनियनका सबैजसो देशले कमजोर इम्युन सिस्टम भएका युवाहरुलाई भ्याक्सिनको अतिरिक्त खुराक दिने योजना बनाएका छन् । वैज्ञानिकहरुले लकडाउन गर्नबाट जोगिन बढी भन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइनुपर्ने सुझाव दिएका छन् ।
यसक्रममा नर्वे सरकारले १८ वर्षभन्दा माथिका सबैलाई भ्याक्सिनको तेस्रो डोज दिने तयारी गरिरहेको छ । अहिले नर्वेमा ६५ वर्षभन्दा माथिका मानिसलाई मात्र बुस्टर डोज दिइँदै आएको थियो । डिसेम्बर १ देखि इटलीमा पनि ४० वर्षभन्दा माथिका सबैलाई भ्याक्सिनको तेस्रो डोज दिने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया