‘गठबन्धन सरकार निर्वाचनसम्म मिलेर अघि बढ्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमती भएको र त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दाबी समेत गरे ।
सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमती गरिसकेको पनि स्पष्ट पारे ।
अध्यक्ष नेपालले भने, ‘पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमती गरेको छ । एउटा राष्ट्रियसभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गईरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमती भईसकेको छ । यो सहमतीले गठबन्धनको आयू लामो छैन र यिनीहरुबीचको एकतालाई तोडन सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन । हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस् ।’
अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गरे । कार्यक्रममा बोल्दै नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानु पर्नेमा जोड दिए । उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ–आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गरेका थिए । नेकपा (एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक भोलिसम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया