आइतबार, जेठ ६, २०८१

‘मन्द बुद्धि’का विद्यार्थी विश्वकै महान् वैज्ञानिक !

नेपालखोज २०७८ कार्तिक २८ गते १३:०८

काठमाडौं । विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम नसुन्ने निकै कम छन् । सबै मानिसले पृथ्वी रहेसम्म नै चिन्ने गरी उनले विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । उनलाई विश्वप्रसिद्ध पत्रिका टाइमले बीसौं शताब्दी मानव नै घोषणा गरेको थियो । संसारमा महान् वैज्ञानिक भनेर चिनिएका र बीसौं शताब्दी मानव नै घोषणा गरिएका यी वैज्ञानिक भने सानोमा मन्दबुद्धिका थिए भन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ ।

आइन्स्टाइन १४ मार्च १८७९ मा जर्मनीको उल्म सहरमा यहुदी परिवारमा जन्मिएका थिए । जन्मिनेबित्तिकै उनको शरीर सामान्य बच्चामा हुनुपर्ने शरीरभन्दा केही ठूलो थियो । उनी सानो छँदा मन्द बुद्धिका थिए ।

आइन्स्टाइनले बाल्यकालमा जर्मनीको म्युनिख सहरको एउटा प्राथमिक विद्यालयमा अध्ययन गरेका थिए । उक्त विद्यालयमा उनको दैनिक क्रियाकलाप र स्वभाव अरु बालबालिकाको भन्दा केही भिन्न थियो । कम बोल्थे, एकान्तप्रेमी थिए । कमजोर पढाइ र रिसाउँदै काम विगार्ने भएकाले कतिपयले उनलाई बुद्धु र मूर्ख बालक पनि भन्ने गर्थे ।

उनको हर्कत देखेर कतिपयले उनलाई अपांगता हुनेगरी कुटपिट पनि गर्ने गर्थे । उनी रिस उठेमा आफ्नो उमेरका साथै ठूलालाई पनि टोक्ने र चिथोर्ने गर्थे । बाल्यकालदेखि नै उनमा किताबी ज्ञानमा कुनै पनि रुचि थिएन । तर ठूलो हुँदै गएपछि उनले यस्तो विषयको आविष्कार गरे, जुनविबना विज्ञान कमजोर साबित हुने गर्छ ।

यहुदी भएकैले केही साथीहरूले उनलाई गिज्याउने, होच्याउने र खिसिट्युरी गर्ने गर्थे । उनी शिक्षकले पढाएको कुरो पनि सम्झिन सक्दैन थिए । पढाइमा ध्यान नगई निदाउने गर्थे । सोधेका प्रश्नहरूको जवाफ पनि दिन सक्दैन थिए । शिक्षकहरूले मन्द बुद्धिको भन्दै गाली गर्थे र कडा सजाय दिन गर्थे । शिक्षकहरूले उनलाई पटकपटक एउटा चिसो कोठामा घण्टौं राखेर यातना दिएका थिए । शिक्षकले भनेको सबै कुरा सत्य हो भन्ने उनलाई लाग्दैन थियो । बेलाबेला शिक्षकको कुराको विरोध पनि गर्थे । फलःस्वरुप उनलाई मूर्ख भनेर चिनाइएको पनि थियो ।

कक्षामा पढाइमा ध्यान नदिए पनि, हेपिए पनि, निदाए पनि परीक्षामा भने राम्रो नम्बर ल्याउने गर्थे । पास हुन्थे । शिक्षकहरू पनि आश्चर्यमा पर्ने गर्थे । बिस्तारै विद्यालयमा एक राम्रो विद्यार्थीका रुपमा चिनिन थाले । शिक्षकहरूले पनि माया गर्न थाले ।

आइन्स्टाइनलाई अरु विषयमा भन्दा बढी गणितमा रुचि थियो । ज्यामितिमा उनको खुबै ध्यान जान्थ्यो । अरु विषयमा कमजोर उनले १२ वर्षको हुँदा युक्लिडको ज्यामिति अध्ययन गरे । १५ वर्षको उमेरमा गणितमा प्रथम र ल्याटिन भाषामा दोस्रो भए । १६ वर्षको हुँदा उनले इन्टिग्रल क्याल्कुलसको गणित पूरै सिकेका थिए । संगीत मनपर्ने उनले ६ वर्षको उमेरमा संगीत ज्ञाता आफ्नी आमा पाउलिङसँग भ्वाइलिन बजाउन जानिसकेका थिए ।

उनी विभिन्न नयाँ र अनौठा विषयको खोजी गर्ने गर्थे । उनका साथीहरू विद्यालयमा फुर्सदको समय खेलेर बिताउँथे । उनी भने पढेर र सोचविचार गरेर समय बिताउने गर्थे । उनी प्राय:जसो विभिन्न विषय-वस्तुहरूबारेमा सोचमग्न भइरहन्थे । सापेक्षतावादको सिद्धान्त अध्ययन गर्ने क्रममा उनले प्रकाशको गति कति हुन्छ पत्ता लगाएका हुन् ।

बाल्यकालमा मन्द बुद्धिका देखिएका उनको दिमागी कामलाई आजसम्म कसैले पनि चुनौती दिन सकेको छैन । आइन्स्टाइनले संसार छोडेको ६० वर्ष (अप्रिल १७, १९५५) भइसकेको छ । तर पनि विज्ञान उनको सिद्धान्तबिना कमजोर देखिने गरेको छ । उनी कसरी विश्वलाई चकित पार्ने आविष्कारकको रुपमा देखिए भन्ने कुतूहल भने सबै मानिसमा अझै पनि छ । उनमा कुनै अद्भूत शक्ति थियो भनेर आकलन गर्नेहरू पनि धेरै छन् ।

सामान्यतः मानिसको दिमागको तौल १४ सय ग्राम हुने गर्छ । तर आइन्स्टाइनको १२ सय ३० मात्र हुँदा अनुसन्धान गर्ने चिकित्सक पनि आश्चर्यमा परेका थिए ।

सामान्यत: बालबालिकाहरू १ देखि २ वर्षको उमेरमा बोल्न सिक्ने गर्छन् । तर आइन्स्टाइन भने चार वर्षको उमेर हुँदा पनि सामान्य पनि बोल्न सक्दैन थिए । एक रात आइन्सटाइन आफ्नो परिवारको सदस्यका साथ खानपिन गर्न बसेका थिए । खान तयार गरिएको सुप निकै तातो थियो । एक्कासि बालक आइन्स्टानले सुप तातो भन्ने शब्द बोलेको सुनेर उनका आमाबाबु छक्क परे र खुसी पनि भए । उनीहरूले आइन्स्टाइनलाई अहिलेसम्म किन केही नबोलेको भनेर सोधेका थिए ।

आइन्स्टाइन ठूलो हुँदा पनि केही आश्चर्यका कुरा गर्दा घरपरिवारका सदस्यहरू छक्क पर्ने गर्दथे । बाल्य अवस्थामा आइन्स्टाइनको स्मरण शक्ति कमजोर भएको टिप्पणी गर्ने गरिन्छ । यहाँसम्मकी उनलाई फोन नम्बर र कुनै मिति याद गर्न धेरै समस्या हुने गर्थ्यो । एकपटक उनीसँग एक साथीले टेलिफोन नम्बर मागेका थिए । तर दिमागमा टेलिफोन नम्बर आएन । उनले डायरी पल्टाएर बल्ल नम्बर दिएका थिए । फोन नम्बर दिन पनि डायरी पल्टाउने क्रियाकलाप देखेर उनको साथीले तिमीले स्वयं आफ्नो फोन नम्बर किन याद नगरेको भनेर सोधेका थिए । साथीलाई उनले डायरीमा खोज्दा भेटिन्छ भने किन याद गर्ने भनेर जवाफ दिएका थिए ।

आइन्स्टाइनका केही आश्र्चयजनक बानी थिए । उनी जुत्ताभित्र कहिल्यै पनि मोजा लगाउँदैन थिए । उनको खुट्टाका बूढी औंला धेरै लामा थिए । मोजा लगाए पनि अस्वभाविक देखिने गर्थ्यो र च्यातिने गर्थ्यो । खुट्टाको बूढीऔंला लामा भएकै कारण उनले मोजा लगाउन छोडिदिएका थिए । उनी आफ्ना जुत्ताको तुना पनि अरुलाई बाँध्न लगाउँथे ।

प्रगतिपथमा लम्किँदै गर्दा उनी सधैंजसो आफूभित्र केही खास चिज नभएको प्रतिक्रिया दिने गर्थे । जिज्ञासु मानिसहरूलाई उनी आफू उत्सुकता नै उत्सुकताले भरिएको मानव मात्र भएको बताउने गर्थे ।

उनको मस्तिष्क शक्ति आज पनि चर्चाको विषय हुने गरेको छ । सन् १९५५ मा उनको मृत्यु भएपछि प्याथोलोजी डा. थोमस हार्भेले परिवारको अनुमतिविनै आइन्स्टानको टाउकोबाट मस्तिष्कको संरचना निकालेका थिए । आफूखुसी गरेकाले डा. हार्भेलाई जागिरबाट पनि निकालिएको थियो ।

डा. हार्भेले आइन्स्टाइनको अनुसन्धान गर्न मस्तिष्क निकालेको प्रतिक्रिया दिएका थिए । आगामी दिनमा विज्ञान र वैज्ञानिकलाई केही फाइदा हुन सकोस् भनेर आफूले दिमागी अनुसन्धान गर्न खाजेको डा. हार्भेले स्पष्टीकरण दिएका थिए । अनुसन्धानका लागि अनुमति नमिलेका कारण डा. हार्भेले आइन्सटाइनको दिमाग केही महिनासम्म एक सिसाको बट्टाभित्र राखे ।

No description available.

पछिल्ला दिनमा अल्बर्ट आइन्स्टाइनका छोरा डाक्टर हेन्स अल्बर्ट आइन्सटाइनले अनुमति दिएपछि डा. हार्भेले दिमागी अनुसन्धान सुरु गरेका थिए । पहिले डा. हार्भेले आइन्स्टाइनको दिमागको तौल नापे । आइन्स्टाइनको दिमाग १२ सय ३० ग्रामको थियो । उनको दिमागको डल्लो सामान्य मानिसकोभन्दा केही सानो थियो । सामान्यत: मानिसको दिमागको तौल १४ सय ग्राम हुने गर्छ । तर आइन्स्टाइनको १२ सय ३० मात्र हुँदा अनुसन्धान गर्ने चिकित्सक पनि आश्चर्यमा परेका थिए ।

अनुसनधान गर्नका लागि डाक्टर हार्भेले आइन्स्टाइनको मस्तिष्क काटेर २ सय ४० टुक्रा बनाएका थिए । उनले ती टुक्रालाई विश्वभरका प्रशिद्ध वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई पनि पठाए । आइन्स्टाइनको दिमागमा सच्चा रुपमा के थियो भनेर पत्ता लगाउन २४० टुक्रा पारेर मस्तिष्क विभिन्न वैज्ञानिकहरूलाई पठाइएको थियो । प्रभावकारी किसिमले दिमागी शक्ति जाँच्न डाक्टर हार्भेले मस्तिष्कको टिस्युबाट हजारौं माइक्रोस्कोपिक स्लाइड बनाएका थिए ।

अनुसन्धानका क्रममा यो पत्ता लाग्यो कि आइन्स्टाइनको मस्तिष्कमा आमसर्वसाधारणको भन्दा धेरै कोषिकाहरू थिए । दिमागमा एक भाग सेरिबल कटेक्स हुन्छ । सेरिबल कटेक्सको आकार पनि सामान्य मानिसको भन्दा केही फरक थियो । सेरिबल कटेक्सले नियमित दिमागी प्रक्रियामा जटिलता हुनेबित्तिकै समाधान गर्न भूमिका खेल्ने गर्छ ।

उनको दिमागको अर्को एउटा भाग पनि आममानिसको भन्दा फरक पाइयो । उक्त दिमागी भागको बनावट अनुसार उनमा गणित सम्बन्धी ज्ञान बढी आएको वैज्ञानिकहरूले दाबी गरेका छन् । वैज्ञानिकहरूका अनुसार उनको दिमागमा पटिएको जस्तो भाग बढी छ । जसको कारण उनीमा विद्वता, ध्यान केन्द्रित हुने बानी र दूरदर्शिता बढी भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । आइन्स्टाइनको मस्तिष्कको एक भागलाई ४० टुक्रा बनाएर अमेरिकाको फिलाडेल्फियास्थित एक म्युजिनयममा पनि राखिएको छ ।

उनी जीवनभरि नयाँ वैज्ञानिक तथा अनुसन्धानमा लागिरहे । मृत्यु हुनुभन्दा केही दिन अघि पनि उनी एकीकृत क्षेत्र सिद्धान्तको अनुसन्धानमा व्यस्त थिए । वास्तवमा अल्बर्ट आइन्स्टाइनको मस्तिष्क सबैका लागि अझै पनि धेरै अनुसन्धान र अनुमानको विषय भएको छ । आइन्स्टाइनको मृत्यु भएको साढे सात घण्टाभित्रै अनुसन्धान गर्नकै लागि उनको मस्तिष्क निकालिएबाट पनि उनको मस्तिष्क अद्भूत क्षमताको भएको पुष्टि हुन्छ ।

विभिन्न वैज्ञानिक अध्ययनहरूका अनुसार आइन्स्टाइनको मस्तिष्कभित्र बोली र भाषामा संलग्न दायराहरू साना छन् । तर संख्यात्मक र मस्तिष्कभित्रको सूक्ष्म प्रक्रियामा संलग्न दायराहरू ठूला छन् । अन्य अध्ययनहरूले आइन्स्टाइनको मस्तिष्कमा ग्लियाल कोषिकाहरूको संख्या बढी भएको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया