सोमबार, वैशाख १५, २०८२

हरि बोधनी एकादशी आज, तुलसीको विवाह गरिँदै

नेपालखोज २०७८ कार्तिक २९ गते ७:१४

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी । आज तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आज काठमाडौं उपत्यकाका चार नारायण भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेष नारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्छ ।

यहाँ जान नसक्नेले काठमाण्डौको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया