बिमा समितिद्वारा दुर्घटना बिमा निर्देशिका २०७८ जारी
बिमकहरुले व्यक्तिगत दुर्घटना बिमा र सामूहिक दुर्घटना बिमालेख जारी गर्न सक्ने

काठमाडाैं । बिमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिका अनुसार निर्जीवन बिमा व्यवसाय अन्तर्गत दुर्घटना बिमाको स्तरीकृत बिमालेखा तयार गरी सोका लागि आवस्यक पर्ने बिमादरसमेत निर्धारण गरी प्रचलनमा ल्याउनको लागि बिमा ऐन २०४९ को दफा ८ अनुसार दुर्घटना बिमा निर्देशिका २०७८ जारी गरिएको हो ।
निर्देशिका अनुसार दुर्घटना बिमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्न सकिने छ । बिमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट) सहित उल्लेख गर्नुपर्ने छ ।
बिमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मितिबीच ३० दिनभन्दा बढी दिनको फरक पारी बिमालेख जारी गर्न पाईने छैन । यसैगरी जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजेसम्म बिमा अवधि समाप्त हुने छ ।
निर्देशिका अनुसार एक वर्षभन्दा लामो अवधिको लागि यस्तो बिमालेख जारी गर्न पाइने छैन । समितिका अनुसार यस निर्देशिकामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै तोकिएको कार्य गर्न कुनै आयोजनामा कार्यरत व्यक्तिको लागि सामूहिक बिमा गर्दा उक्त आयोजना अवधिभरका लागि एकैपटक दुर्घटना बिमा गर्न सकिने छ ।
यसैगरी यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निर्माणमा संलग्न मजदुरको सामूहिक बिमा गर्दा एउटै बिमकमा पुरा आयोजना अवधिभर बिमा गरेको अवस्थामा अन्तिम वर्षमा हुन आउने एक बर्ष भन्दा कम अवधिको लागि छोटो अवधिका बीमादरको सट्टा समानुपातिक बीमादर लागु हुने छ ।
निर्देशिका अनुसार बिमकहरुले व्यक्तिगत दुर्घटना बिमा र सामूहिक दुर्घटना बिमालेख जारी गर्न सक्ने छन् । यस अन्तर्गत बिमित वा बिमालेख धारकले अनुरोध गरेमा एक वर्षभन्दा कम अवधिको लागि बिमालेख जारी गर्नुपर्ने छ र त्यस्तो बिमालेखलाई छोटो अवधिको बिमालेख भनिने निर्देशिकामा उल्लेख छ ।
समितिका अनुसार छोटो अवधिको बिमालेख अन्तर्गत एक महिनासम्मको लागि वार्षिक बिमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मको लागि वार्षिक बिमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मको लागि वार्षिक बिमाशुल्कको ६० प्रतिशत, छ महिना देखि एक वर्षसम्मको लागि शत् प्रतिशतसम्म बिमादर कायम गर्न सकिने छ ।
निर्देशिका अनुसार छोटो अवधिको बीमालेख एक पटक जारी भईसकेपछि सो को पुन समय बढाउन पाईने छैन । यो व्यवस्था अनुसार बीमलेख जारी गर्दा बीमितको पेशासंग निहित जोखिमहरु प्रष्टसंग खुलाउनु पर्ने छ । निर्देशिका अनुसार व्यक्तिगत दुर्घटना बिमाको लागि न्युनतम बिमादर प्रति व्यक्ति प्रतिहजार दुई रुपैयाँ हुने छ ।
सामूहिक दुर्घटना बिमाको लागि भने दुई जना देखि २५ जनासम्मको लागि प्रति व्यक्ति प्रतिहजार न्युनतम दुई रुपैयाँ, २६ जना देखि एक सय जनासम्मको लागि प्रति व्यक्ति प्रतिहजार न्युनतम एक रुपैयाँ ७५ पैसा, एक सय जना भन्दा बढीको लागि प्रति व्यक्ति प्रतिहजार न्युनतम एक रुपैयाँ ५० पैसा र क्षतिपुर्ती स्वरुप एक लाख भन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चको लागि थप गरिएको बिमांकको पाँच प्रतिशतसम्म बिमाशुल्क कायम हुने छ । तर यसमा सुरु बिमांकभन्दा बढी हुने गरी औषधोपचार खर्च थप गर्न पाईने छैन ।

प्रतिक्रिया