उत्कृष्ट आर्थिक पत्रकारलाई प्रत्येक वर्ष १ लाख दिइने

एक लाख राशिको ‘शारदादेवी/ढुण्डीराज भट्टराई-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ स्थापना
काठमाडौं । एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
बैंकिङ तथा बिमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज भट्टराई-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले पुरस्कार प्रदान गर्नेछ । भट्टराईले आफ्ना मातापिताको सम्मानमा पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन् ।
पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउनेछन् । पुरस्कारसम्बन्धी सम्झौतापत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।
सम्झौता अनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । १० लाख रुपैयाँ अक्षयकोषका रुपमा उपयोग गरिनेछ । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिनेछ ।
‘मेरो पुजनीय बुबा-आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोचअनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नहरुको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु,’ हस्ताक्षर कार्यक्रममा भट्टराईले भने । उनले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिए ।
नाफिज अध्यक्ष ढकालले एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको बताए । उनले यसले नाफिजसँग आबद्ध पत्रकारहरुलाई थप मिहिनेतका लागि पनि प्रेरित गर्ने बताए । ‘यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ,’ ढकालले भने ।

प्रतिक्रिया