शनिबार, वैशाख १३, २०८२

प्रेम र समर्पणको पर्व सामाचकेवा समापन हुँदै

नेपालखोज २०७८ मंसिर २ गते ९:५०

महोत्तरी । मिथिलामा दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको संघारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सुख–समृद्धिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी छ । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ ।

छठ पर्वको खरना (कात्तिक शुक्ल पञ्चमी) का दिन सुरु भएर बोलीचालीमा ‘सामा’ भनिने यो पर्व ११ दिनसम्म मनाइने चलन छ । अहिले कात्तिक पूर्णिमा नजिकिएर यो पर्व समापनको तयारी अघि बढेसँगै मिथिलाबासी महिला आफ्ना दाजुभाइलाई डाक्न ब्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।

आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलाबासी बताउँछन् । चकमन्न रातमा साथीहरु जम्मा हुने, गीत गाउने, ठट्टा गर्नेलगायत क्रियाकलाप महोत्तरीको मटिहानी नगरपालिका ७ की दीपिका साहले बताइन् । उनले आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देशसँगै आपसी सामा खेल्नेहरुको ११ दिन बितेको पत्तै नहुने साहले बताइन् ।

मध्यरातसम्मको चकमन्न समयमा नगर-गाउँ बस्तीको चौबाटामा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आफूहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने गरेको मिथिलाका युवा बताउँछन् । दाजुभाइको दीर्घायुको कामनामात्र नभएर मिथिलानी सामा गीतमा आफ्ना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्ने गर्छन् । गीत सुन्दा आफ्ना दिदीबहिनी हुने खुशीले दंग हुन्छन् भने दिदीबहिनी नहुनेलाई नरमाइलो महसुस हुने महोत्तरीकै एकडारा गाउँपालिकाको अजमरपट्टि गाउँका सामाजिक कार्यकर्ता अजित मण्डलले बताए ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि यो पर्वबीच ‘छोरी’ को रहर जगाउँछ । आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेले नजिकका दिदीबहिनीसँग बसेर पर्व मनाउँछन् ।

दाजुभाइ दिदीबहिनीप्रति प्रेम दर्शाउने सामाचकेवा पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा छ ।

प्रतिक्रिया