मंगलबार, वैशाख १६, २०८२

रोगभन्दा भोकमरी चर्को !

नेपालखोज २०७८ मंसिर २ गते १०:२८

काठमाडौं । गैरसरकारी संस्था अक्सफामले ‘हंगर भाइरस मल्टिप्लाइज’ शीर्षकमा एउटा नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा अक्सफामले बताएअनुसार अहिले भ‍ोकमरीका कारण मर्ने मानिसहरुको संख्या कोभिड-१९ का कारण मर्नेहरुको तुलनामा बढी भइसकेको छ । कोभिड-१९ बाट अहिले हरेक मिनेटमा करिब सातजनाको मृत्यु भइरहेको तथ्यांक छ ।

आश्चर्यचकित तुल्याउने तथ्यांक
रिपोर्टअनुसार गएको एक वर्षमा अकाल जस्तो अवस्था सामना गर्ने मानिसहरुको संख्या ६ गुणाले बढेको छ । अक्सफाम अमेरिकाका अध्यक्ष तथा सीईओ एबी म्याक्समेनका अनुसार, ‘यी तथ्यांक आश्चर्यचकित तुल्याउने खालका छन् तर हामीले के हेक्का राख्नुपर्छ भने यो तथ्यांक अकल्पनीय पीडा सामना गर्ने अलग-अलग व्यक्तिहरुबाट बनेको छ । यहाँ एक व्यक्ति पनि धेरै हुन्छन् ।’

१५.५ करोड मानिस खाद्य असुरक्षाको संकटमा
अक्सफामको यो रिपोर्टअनुसार अहिले संसारमा करिब १५.५ करोड मानिस खाद्य असुरक्षाको भीषण संकट झेलिरहेका छन् । यो तथ्यांक गएको वर्षको तथ्यांकको तुलनामा दुई करोड बढी हो । तीमध्ये करिब दुईतिहाइ मानिस भोकमरीको सिकार छन् । त्यसको प्रमुख कारण हो- उनीहरुको देशमा चलिरहेको सैन्य संघर्ष ।

कोभिड र जलवायु परिवर्तनले पनि असर पार्‍यो
एबी म्याक्समेन भन्छन्- आज कोभिड-१९ का कारण आर्थिक गिरावट, निरन्तरको संघर्ष तथा जलवायु संकटले संसारका ५.२० लाखभन्दा बढी मानिसलाई भोकमरीक‍ो संघारमा पुर्‍याएको छ । उनले भनेका छन्- महामारीसँग जुध्नुको साटो युद्धरत गुटहरु एक-अर्काविरुद्ध लडाइँ लडिरहेका छन् । यसको सीधा असर ती लाखौं मानिसमा परेको छ जो पहिलेदेखि नै मौसमसम्बन्धी विपत्ति र आर्थिक अभावले थिचिएका छन् ।

महामारीमा पनि युद्ध खर्च
अक्सफामका अनुसार कोरोनाको यो महामारीमा संसारको सैन्य खर्च बढेर ५१ अरब डलर पुगेको छ । य‍ो राशि भोकमरी समाप्त गर्न संयुक्त राष्ट्रसंघलाई चाहिने रकमभन्दा ६ गुणा बढी हो ।

यी देशको स्थिति अत्यन्त खराब
रिपोर्टमा ती देशको उल्लेख छ जो भोकमरीले ‘सबैभन्दा बढी प्रभावित’ छन् । त्यसमा अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया तथा यमनको नाम अगाडि छ । ती सबै देशमा आन्तरिक संघर्ष चलिरहेको छ ।

भोकमरी युद्धको हतियार
अक्सफामका अनुसार अहिले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको छ । मानिसहरुलाई भोजन र पानीबाट वञ्चित गरेर, मानवीय सहायतामा बाधा उत्पन्न गराएर भोकमरीलाइ युद्धको हतियारका रूपमा प्रयोग गरिएको छ । अक्सफामका अनुसार जब बजार, खेत अनि घरपालुवा जानवरहरुमाथि बमबारी हुन्छ तब मानिसहरु पनि सुरक्षित रहन सक्दैनन् न त उनीहरु आफ्ना लागि भोजन नै जुटाउन सक्छन् ।

संघर्ष रोक्न अपिल
अक्सफामले सम्बन्धित पक्षहरुसँग हिंस्रक संघर्ष रोक्न आग्रह गरेको छ । अक्सफाम भन्छ- सरकारहरुले यी संघर्षहरुलाई विनाशकारी भोक पैदा गर्न बाट रोक्नुपर्छ । सरकारहरुले के सुनिश्चित गर्नुपर्छ भने आवश्यकता भएकाहरुसम्म राहत एजेन्सीहरु पुग्न सकून् । अक्सफामले दाता देशहरुसमक्ष के पनि अनुरोध गरेको छ भने भोकमरी कम गर्ने यूएनको प्रयासका लागि तत्काल धन उपलब्ध गराइनुपर्छ ।

प्रतिक्रिया