एक युग मसँगै निदाएर ब्युँझिएको

वसन्त चाैधरी २०७८ मंसिर ४ गते ८:३२

सखारै !
ब्युँझिएका आँखाहरूले
देखे,
जीवन र मृत्युबीचको
युद्धको सपना
अञ्जान देशको बाटोमा
छोडिँदै गएका आफ्ना ।

यद्यपी, दिएन हिम्मतले
आशाका दीप बलेका
आँखाहरूलाई निभ्न
अन्त्यसंग सम्झौता गर्न
जीवनको यो कठिन घडीमा
झक्झकाइरहे उठ्न,
हिँडन र बोल्न ।

सायद
यही नै थियो कि
जीवन बिर्सने र मृत्यु चिन्ने अवसर
सायद यही नै थियो
इच्छाशक्तिको विजय
वा भनौं संकल्प !

कति कठीन छ
यो जीवनलाई प्रार्थनामय बनाउन
छोडिइरहने आफ्नाहरूलाई
आफ्नै बनाउन
आँखाहरूमा सपना मर्न नदिन
हृदयलाई,
उत्साहले प्रोत्साहन दिइरहन् ।

उत्साह !
छोडिन खोज्ने पलहरूलाई
समाउन सक्नु
सपनाहरूलाई साहस दिनसक्नु
सायद,
यही नै थियो कि
इश्वरीय अनुकम्पाको उदाहरण
या भनौँ प्रार्थनाको सुनवाई
हेर्दैछु,
आभासित पलको निर्दिष्ट एक युग
एक युग मसंगै निदाएर ब्युँझिएको !!

प्रतिक्रिया