बुधबार, वैशाख १२, २०८१

मेरी आमा र मेरो देशको पीडा

राम योन्जन`गाउँले´ २०७८ मंसिर ४ गते १०:२३


समयको गणितीय सुत्रमा-
प्रकृतिको समीकरण अनुसार
कपाल- हिउँको रङ्ग जस्तै हुनु!
रस निखृदै गएर फुस्रो चाउरिएको
उस्तै मेरी आमाको अनुहारजस्तो भएको छ मेरो देश।

मेरो देश जो आमा हुन्
मेरो आमा जो मेरो देशको पीडा हो।

आशा लत्पतिएको-
आम आँखाहरूको पर्खाइबाट,
हरेक बिहान झुल्किने घामको पहिलो झुल्कोसँग!
म, मेरो आमालाई परिचित गराउँछु।

मातृपरिचयकै भर्‍याङ टेकेर-
म हरेक दिन कर्मठ सिद्धान्तको यात्रा सुरुवात गर्छु।

धर्मचेतको विवेकी मस्तिष्कबाट-
सानो हो भनेर मेरी आमाको जात छुट्याइएको हो।

वर्णव्यवस्थाबाट- मान्छे बन्ने रहर लुटियो
बाँच्नुको स्वतन्त्रता खोसियो
हरेक चिज उमारिरहने मेरी आमा
कहिल्यै आजसम्म माटो बन्न सकिनन्।

आँसुको हरेक थोपामा-
आमाको कालो रात खसेर जान्छ,
तर आमाको अनुहारले-
उज्यालो घामको ऐना कहिल्यै हेर्न पाईनन्।

म जन्मिएको हाम्रो आँगन
किन सधैं मानताको डिलमुनि हुन्छ?
म हिँडेको पसिनाको बाटो,
अझै कहिलेसम्म भत्काइरहने हो विभेदको भलबाडीले??

मेरो अस्तित्व र पहिचानलाई
मैले मेरो राष्ट्र भन्दा
किन? स्वीकार्दैनन् डिलमाथि छु भन्नेहरूले?
बस् यत्तिमात्रै याद गरे पुग्छ!
पसिनाको कुलो डिलमाथि चढ्दैन!
केवल डिलमुनिमुनि मात्रै हिँडिरहन्छ।

पसिना र मेरी आमाको सम्बन्ध-
आमाछोराको भन्दा कम प्रगाढ छैन,
सम्बन्ध बिग्रेको त-
दैनिकी गाँस पकाउने चुल्होसँग हो!
बेलाबेलै चुल्हो बल्न मान्दैन।

सम्झौताको नाममा-
त्यतिनैबेला भोकापेटहरू एकजुट भएर
नराम्रोसँग धम्क्याउँछ मेरी आमालाई!
म त सधैं मेरी आमाको अगाडि
एउटा मूक दर्शक बनेर
सोचिरहेछु-
के फरक छ? मेरी आमाको र मेरो देशको पीडामा।

प्रतिक्रिया