सोमबार, फागुन १४, २०८०

युवाहरूको विश्वास- विश्व अझ राम्रो बन्दै छ

‘पुरानो पुस्ताको तुलनामा विश्वका युवा आशावादी छन्, विश्वव्यापी सोच राख्छन् र विश्वलाई अझ राम्रो बनाउन प्रतिबद्ध छन् ।’

नेपालखोज २०७८ मंसिर ४ गते १६:०१

काठमाडौं । युनिसेफ र ग्यालपद्वारा गरिएको एक नयाँ सर्वेक्षणको प्रतिवेदनअनुसार हरेक पुस्तापछि विश्व अझ राम्रो ठाउँ बनिरहेको छ भन्ने कुरामा पुरानो पुस्ताको तुलनामा युवाहरूले ५० प्रतिशतभन्दा बढी विश्वास गर्छन् ।

सर्वेक्षणअनुसार आजका बालबालिकाका निम्ति स्वास्थ्य सेवा, शिक्षा र भौतिक सुरक्षामा भएको प्रगतिका कारण अभिभावक पुस्ताको तुलनामा उनीहरूको बाल्यावस्था धेरै उन्नत रहेको भन्ने कुरामा युवाहरू बढी विश्वस्त रहेको देखिन्छ । जलवायु परिवर्तनसम्बन्धी काम-कारबाहीप्रति बेचैनी एवं असन्तुष्टि व्यक्त गर्दै, उपभोग गर्दै आएका सामाजिक सञ्चारमाध्यमका सूचनाहरूप्रतिको शंका तथा आफ्ना उदासीन भावनाहरूसँग संघर्षरत युवाहरू आशाका बाबजुद भविष्य देख्न सकिरहेका छैनन् । पुरानो पुस्ताको तुलनामा उनीहरू आफूलाई बढी नै विश्वव्यापी नागरिक मान्छन् र कोभिड-१९ महामारीजस्ता खतराहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग र सहकार्य उनीहरूलाई स्वीकार्य छ ।

‘आजको संसारमा निराशाका कारणहरूको कुनै कमी छैन । जलवायु परिवर्तन, महामारी, गरिबी र असमानता, बढ्दो अविश्वास र बढ्दो राष्ट्रवाद छ । तर यहाँ आशाको कारण पनि छ । बालबालिका र युवाहरू विश्वलाई वयस्कहरूको धमिलो चस्माबाट हेर्न इन्कार गर्छन्,‘ युनिसेफका कार्यकारी निर्देशक हेनरिएतटा फोर भन्छन्, ‘पुरानो पुस्ताको तुलनामा विश्वका युवा आशावादी छन्, विश्वव्यापी सोच राख्छन् र विश्वलाई अझ राम्रो स्थान बनाउन प्रतिबद्ध छन् । आजका युवाहरूलाई भविष्यप्रति चासो छ र उनीहरू आफूलाई समाधानको हिस्सा मान्छन् ।’

यो २१ वटा राष्ट्रमा दुई उमेर समूह (१५-२४ र ४० वर्ष र त्योभन्दा माथिका) २१,००० जनामा सर्वेक्षण गरिएको थियो । भौगोलिक हिसाबले एसिया, अफ्रिका, युरोप, र उत्तर एवं दक्षिण अमेरिकाका सम्पूर्ण क्षेत्रहरूमा तथा त्यहाँका आय-स्तरका आधारमा राष्ट्रिय प्रतिनिधिमूलक सर्वेक्षण गरिएका थिए । नेपाल यो सर्वेक्षणमा सम्मिलित नभए पनि यसका नतिजाहरूले विभिन्न पुस्ताका समान मूल्यहरू एवं भिन्नताहरूसम्बन्धी सूचनाहरूमार्फत राष्ट्रलाई प्रतिबिम्बित गर्छ ।

समष्टिमा तथ्यांकले युवा पुस्तालाई विश्वव्यापीकरणको उपजका रुपमा चित्रित गरेको छ । उदाहरण स्वरुप, वयस्क जनसंख्या (२२ प्रतिशत) का तुलनामा लगभग दोब्बर युवा जनसंख्याले (३९ प्रतिशत) आफूलाई कुनै राष्ट्र वा स्थान विशेषको मात्र नठानी समग्र विश्वको हिस्सा मान्छन् । प्रत्येक एक वर्ष बढी उमेर समूहका व्यक्तिहरूमा विश्वव्यापी नागरिक भएको मान्ने प्रतिशत एक-एक प्रतिशत गर्दै घट्दै गएको देखिन्छ।

महामारीका बेला गरिएको यो सर्वेक्षणअनुसार आज युवा तथा बालबालिकाले सूचनाको विश्वसनिय स्रोतका रुपमा आफ्नो सरकार, वैज्ञानिक तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई नै मान्ने गरेको पाइएको छ । यो मत-सर्वेक्षणले आजका युवावर्ग संसारले सामना गरिरहेको समस्याहरूबारे पनि सचेत रहेको देखाउँछ ।

-अधिकांश युवावर्गले अनलाइन बस्ने बालबालिका हिंसा तथा यौनजन्य वस्तु (७८प्रतिशत) वा धम्की (७९ प्रतिशत ) जस्ता खतरामा भएको महसुस गर्छन् ।
-केवल १७ प्रतिशत युवाले मात्र सूचनाको विश्वसनीय स्रोतका रुपमा सामाजिक सन्जाललाई मानेको पाइएको छ ।
-जहाँ निम्न तथा मध्यम आय भएका देशहरूका युवाहरूमध्ये ६४ प्रतिशतलाई आफ्नो देशको बालबालिका उनीहरूको अभिभावकहरूभन्दा आर्थिक रुपले सबल बन्नेछन् भन्ने विश्वास छ त्यहीं उच्च आय भएका देशहरूका एकतिहाइ युवाहरूलाई मात्र त्यस्तो विश्वास छ ।
-संसारका एकतिहाइभन्दा बढी युवा आफू भयभित तथा चिन्तित भएको बताउँछन् भने प्रत्येक पाँचजनामा एकजना युवाकै पनि कामप्रति रुचि कम भएको वा उदासी/निराशा छाएको गुनासो गर्छन् ।
-औसतमा ५९ प्रतिशत युवाहरूले आफ्नो भविष्यको चिन्ताका कारण आफ्नो मातापिताले सोही उमेरमा झेलेको भन्दा बढी तनाव आजका युवाले झेलेका छन् भन्ने विचार व्यक्त गर्छन् ।

यो मत सर्वेक्षणले के पनि देखाउँछ भने आजका युवाहरू भेदभावविरुद्धको लडाइँमा द्रुत प्रगति, राष्ट्रहरूबीच अझ बढी सहकार्य तथा निर्णयकर्ताहरूले उनीहरूका कुरा सुनुन् भन्ने चाहन्छन् ।
-युनिसेफ

प्रतिक्रिया