राष्ट्रपतिको भ्रमण हुने भएपछि मटिहानीका बासिन्दा उत्साहित

महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिएको छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवको रुप दिएका हुन् ।
भोलि (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रंगशाला उद्घाटन गर्न जाने कुराले नगरवासीमा उत्साह छाएको हो । राष्ट्रपतिको मटिहानी (महोत्तरी) भ्रमण कार्यक्रमको राष्ट्रपति कार्यालयले पनि पुष्टि गरेको छ ।
यतिखेर मटिहानीका मुख्य चोकबजार केन्द्रमा राष्ट्रपतिका पूर्ण कदका तस्वीर राखिएका छन् । ‘महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई धार्मिक नगरी मटिहानीमा हार्दिक स्वागत छ’ लेखिएका स्वागतद्वारले सबैतिर झकिझकाउ देखिएको छ ।
मटिहानीवासीले यस अवसरलाई पर्व र उत्सवकै रूपमा लिएका छन् । आफ्नै ठाउँमा आफ्नै राष्ट्रप्रमुखको स्वागतको अवसर आफैंमा पर्व र उत्सव हुने मटिहानीवासी बताउँछन् ।
‘हाम्रो ठाउँले त्रेतायुगदेखि नै धार्मिक महत्व बोक्दै आएको छ, यसबाहेक संस्कृत शिक्षाको त यो पुरानो केन्द्र नै हो’, मटिहानी–८ का बासिन्दा पुराना राजनीतिक, सामाजिक अगुवा वृजनारायण लाल कर्ण भन्छन् , ‘पछिल्लो कालमा हाम्रो पुरानो पहिचान उजागर गर्ने प्रयत्न बढेका छन्, राष्ट्रप्रमुखले यो प्रयत्न अवलोकन गर्ने अवसर बन्दैछ, हामी खुशी छौँ ।’ आपूmहरूका लागि राष्ट्रपतिको भ्रमण महत्वपूर्ण अवसर र पर्व नै हुने कर्ण बताउँछन् ।
महोत्तरीको मटिहानीअघि त्रेतायुगमा राम–सीताको विवाहमा वेदि (यज्ञस्थल) निर्माण गर्न माटो खनिएको ठाउँका रूपमा विश्वास गरिन्छ । वेदिका लागि माटो खनिएको मान्दै आएको लक्ष्मीसागर (तलाउ) मिथिला क्षेत्रकै पवित्रस्थलका रुपमा अझै पूज्य रहेको पाका मैथिल बताउँछन् ।
यसबाहेक मटिहानीस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर नेपाल र भारतका मठ परम्परामा पूज्यनीयस्थल रहँदै आएका मटिहानीस्थित राम माध्यमिक विद्यालय (लक्ष्मीनारायण मठले स्थापना गरेको) का अवकाशप्राप्त प्रधानाध्यापक चन्देश्वर साह बताउँछन् । भ्रमण क्रममा राष्ट्रपति भण्डारीले यी महत्वपूर्ण धरोहरको अवलोकन गर्नुहुने मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया