शनिबार, फागुन १२, २०८०

जाडोमा निमोनियाँ र उपचार ?

डा. हेमराज कोइराला २०७८ मंसिर ६ गते १२:३०

निमोनियाँको प्रारम्भिक निदान विधि भनेको लक्षण र चिह्नहरूको विश्लेषण एवं क्लिनिकल परीक्षण हो । उच्च ज्वरो आएको, खोकी लागेको, खोक्दा खकार आउने, छाती दुख्ने, श्वासको गति बढेको, चिसो महसुस भएको एवं छाती भारी भएको थकाई लाग्ने, १ सय २० प्रतिमिनेट भन्दा उच्च नाडीगति, ३० प्रतिमिनेटभन्दा उच्च श्वासगति र कमजोर मानसिकता विकसित हुँदै गइरहेको भए निमोनियाँको आशंका गरी तुरुन्त चिकित्सक कहाँ पुगिहाल्नुपर्छ । रोगको किटान यकिन गर्नका लागि भने रक्तकोषहरुको गणना, सेरम इलेक्ट्रोलाइटको मापन, सिरी एक्टिभ प्रोटिनको मापन, पल्स अक्सिमेट्री, कलेजो र मिर्गौलाको कार्य परीक्षण, छातीको एक्स रे वा सीटी स्क्यान खकारको जाँच ब्रोङ्कोसकोपी र कहिलेकाहीँ प्लुरल लुइडको परीक्षण पनि गर्नुपर्ने हुन सक्छ ।

कसरी हुन्छ उपचार ?

निमोनियाँ संक्रामक रोग भएकाले उपचार गर्दा रोगको कारण, संक्रामक किटाणुको प्रकृति, रोगको गम्भीरता र लक्षण एवं चिह्‌नहरूको विश्लेषणका आधारमा उपचार अगाडि बढाइन्छ । निमोनियाँ ब्याक्टेरियाहरुको संक्रमणले लागेको भए एब्टिवाइटिक्स औषधिहरू चलाइन्छ साथै ज्वरो, खोकी र नातागतको पनि छुट्टै औषधि दिइन्छ ।

ब्याक्टेरियाको संक्रमणले हुने न्युमानिया भाइरसको संक्रमणले हुने निमोनियाँभन्दा चाँडै ठीक हुन्छ तर रोग ठीक भए पनि औषधिको पूरै कोर्स पूरा गर्नुपर्छ बीचमा छाड्नु हुँदैन । बीचैमा औषधि छोडिदिँदा रोगका किटाणुहरू पूरै मरिसकेका हुँदैनन् । साथै यी किटाणुले औषधिप्रति प्रतिरोध क्षमता पनि विकास गरिसकेका हुन्छन् ।

यसो हुँदा रोग फेरि बल्झिन्छ र ज्यादा भयावह बनेर प्रकट हुन्छ । साथै फेरि उपचार गर्दा एन्टिबायाेटिकले पनि कामगर्दैन । न्यूमानिया भाइरसहरूको कारणले भएको भए एन्टिभाइरल औषधिहरूद्वारा उपचार अगाडि बढाउनु पर्ने हुन्छ । भाइरल निमोनियाँ ब्याक्टेरिल निमोनियाँभन्दा लामो समय लिएर ठिक हुन्छ ।

भाइरल निमोनियाँमा ज्वरो, खोकी, थकान आदि भए यथोचित औषधिहरू पनि दिनु पर्ने हुन्छ । निमोनियाँ भएको पाइएमा सकभर अस्पताल भर्ना भएरै उपचार गराएको राम्रो हो । त्यसमापनि रोगी ५ वर्षभन्दा कम उमेरका बालबालिका वा ६० वर्ष माथिका जेष्ठ नागरिक भए अस्पताल भर्ना गर्न आवश्यक हुन्छ । बयस्कमा पनि श्वासको गति १ मिनेटमा ३० पटकभन्दा माथिगएमा, नाडीको गति १२० पटक प्रतिमिनेट भन्दामाथिगएमा रक्तचाप घट्न थाले र शिथिलता बढ्दै गएमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

निमोनियाँको उपचार गर्दा मुख्य रुपमा रोग उत्पन्न गराउने किटाणुको पहिचान गरेर त्यसविरुद्ध औषधि चलाइन्छ । यो रोगको लक्षणको रुपमा देखा परेको ज्वरो, खोकी नातागत आदिलाई पनि यथोचित औषधि दिएर समन गर्ने प्रयास गरिन्छ ।

औषधिको कोर्स सामान्यतया १० देखि १५ दिनको हुन्छ । औषधि लिए पश्चात केहीदिन मै आरामभए जस्तो भएपनि औषधि पुरा कोर्स खानु पर्दछ । यो रोगका रोगीले उपचार अवधिभर आरामगर्ने र शारिरीक र मानसिक रुपमा पूर्ण रिल्याक्स रहनु पर्छ । कफ ज्यादा बढेमा नेबुलाइजरको प्रयोग गरेर निकाल्नु पर्ने पनि हुन्छ ।

खानामा हल्काफुल्का सुपाच्य भोजन लिनुपर्ने हुन्छ । झोलिलो खानेकुराले पनि यो रोग कम गर्न मद्दत गर्दछ । तसर्थ तरकारीको रस, दालको झोल, ताजा जुस एवं तरकारीको सुप, मह पानी, नरिवलको पानी आदिको सेवन पनि पनि यो रोगको लागि हितकर छ । पानीको बाफ लिँदा पनि श्वास मार्गलाई ओसिलो बनाई श्वास फेर्ने सजिलो बनाउँदछ ।

कसलाई बढी खतरा यथोचित र बेलैमाउपचार गर्न सके निमोनियाँले त्यति बिगार गर्देन तर बेलैमा सहि उपचार सुरु नहुँदा रोगका किटाणुहरू रगतमा फैलिएर सेप्टिसिमियाको अवस्था आउनसक्छ र ज्यान पनि जान सक्छ । यसै गरी फोक्सोको धेरै स्थानमा पानी जम्दा प्रयाप्त अक्सिजन नपुगेर पनि मान्छे मर्न सक्छ ।

यदि रोगी पाँचवर्ष मुनिको बालकहो वा ६० वर्षको माथिको जेष्ठ नागरिक हो वा प्रतिरक्षा प्रणाली कमजोर भएको, मृगौला, कलेजो मुटुरोगी र क्यान्सरको रोगी, स्टेरोइड थेरापी लिइरहेको, एचआईभीबाट संक्रमित भएको वा ठूलो चोटपटक लागेको मान्छे हो भने उनीहरूमा यो रोग ज्यानमारा पनि हुन सक्छ ।

निमोनियाँ रोकथामको उपाय

१. निमोनियाँबाट बच्ने उपाय भनेको किटाणुहरुको संक्रमणबाट बच्नु हो । खासगरी रुघाखोकी लाग्दा केहीदिनमा रुघाखोकी ठिक नभए डाक्टरलाई देखाई हाल्नुपर्छ ।

२. ठेउला, दादुरा जनै खटिरो वा फ्लुको संक्रमण भएको ब्यक्तिलाई तुरुन्त निमोनियाँ हुन सक्छ तसर्थ यस्ता रोगलाई ख्याल-ख्यालमा नलिऔं ।

३. संक्रमित ब्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउदा विशेष सावधानि अपनाऔं । उनीहरूसँग खास दुरी बनाएर बसौं । रुँघा खोकी लागेकाहरूसँग हात मिलाउने, अंकमाल गर्ने, नजिक बस्ने वा चुम्बन गर्ने नगरौं ।

४. आफूलाई रुघाखोकी वा फ्लु भएको छ भने यो निमोनियाँको कारणले पनिहुन सक्छ । यस्तो अवस्थामा खोक्दा वा हाच्छिउ गर्दा रुमाल वा टिस्यु पेपरको प्रयोग गरौँ ।

५. निमोनियाँको संक्रमण अस्पतालबाट पनि फैलिने गर्दछ । अत: आवश्यक नपरेको अवस्थामा अस्पताल नजाऔं । गएपनि संक्रमित रोगीभएका वार्डतिर नजाऔं ।

६. रोगीलाई स्याहार्ने चिकित्साकर्मी हेरचाहगर्ने नर्स वा विरामी कुरुवाले विशेष सावधानी अपनाऔं । ७. मौसम बदलिदा पथपहरेजमा विशेष ध्यान दिऔं । चिसो, धुवाधुलो र प्रदुषणबाट बचौं । विशेष गरी चिसोमा बालबालिका र बृद्ध बद्धाको विशेष ख्याल राखौं । बच्चालाई रुँघा खोकी र कफको समस्या भए स्कुल पनि जान नदिऔं । प्रदुषित ठाउँमा जानै परे गुणस्तरीय मास्क लगाएर मात्र जाने गरौँ ।

८. धुमपान आफु पनि नगरौँ अरुलाई पनि गर्न नदिऔँ । विशेषतः स-साना बालबालिका भएको ठाउँमा धुम्रपान गर्दैनगरौ । काठ दाउरा गुइठा जस्ता बायोमास ईन्धन प्रयोग गरी खाना पकाउँदा धुँवा बाहिर जाने सुधारिएको चुल्हो प्रयोग गर्ने गरौ ।

९. निमोनियाँबाट बच्न खोप – न्यूमोकोकल कन्जुगेट खाेप पनि उपलब्ध छ । हुन त विश्व स्वास्थ्य संगठनले आफ्नो नियमित खोप कार्यक्रममा यो खोपलाई सूचीकृत गरेको छैन तथापि जोखिम वर्गमा परेकाले यो खोप लगाएको राम्रो हो । २ वर्षभन्दा कम उमेरका बच्चा र ६५ वर्षभन्दा ज्यादा उमेरका वृद्धवृद्धालाई निमोनियाँको खोप दिनु राम्रो हो । २ वर्षभन्दा माथिका बच्चालाई विशेष परिस्थितीमा मात्र यो खोप दिऔं ।

१०. रुघामर्कीलाई हल्का नलिऔं किनकि निमोनियाँको प्रारम्भिक लक्षण नै रुघामर्की हो । अधिकांश आमाबुबाहरू बच्चालाई निमोनियाँ भइसक्दा पनि रुघामर्की लागेको ठानेरै बसी रहन्छन् । यदि रुघामर्की ४-५ दिनभित्र ठिक नभए अचानक तिब्र ज्वरो आए, श्वासको गति अचानक बढे, नाडी गति बढे, बच्चाले दुधपिउन छाडे, खान मन नगरे, शरिर लल्याक-लुलुक भए ओठ कलेटी परे वा हातखुट्टा र ओठ निलो हुन थाले तुरुन्त अस्पताल लगिहालौं ।

११ . चिसोबाट बचाऔं । बच्चालाई चिसोबाट बचाउन प्रशस्त लुगा लगाएर न्यानो पारेर राख्नुपर्छ ।

१२. बच्चाको सर-सफाइमा विशेष ध्यान दिऔं । बच्चा सुताउने कोठा, खेलौना एवं लुगाफाटो आदिको सरसफाइमा विशेष ध्यान दिऔं ।

१३. खाना खुवाउदा वा दुध पिलाउँदा सर्किन्छ कि भनेर विशेष ध्यानदिऔं । खाना सर्किहाल्यो भने निमोनियाँ हुन्छ कि भनेर सचेत बनौं।

१४. बाहिरबाट आएर एक्कासी बच्चालाई समाति नहालौं । हाम्रो संस्कृतिमा बाहिरबाट आएर बच्चा छुनुभन्दा पहिले आगो छुने चलन थियो । यो अत्यन्त वैज्ञानिक रिती थियो । अब आगो छुइरहन सम्भव नभए पनि ७० प्रतिशत अल्कोहल सोल्यूसनले हात धोएर मात्र बच्चालाई छुने गरौं ।

१५. नियोनिया संक्रमित व्यक्तिसँग बच्चालाई टाढै राखौं ।

१६. निमोनियाँको शंका लाग्नेबित्तिकै तुरुन्त डाक्टर कहाँ पुगिहालौं ।

१७. निमोनियाँको औषधि सेवन गर्न थालेपछि कोर्स पुरा गरेपछि मात्र छाडौं ।

१८. बालबालिकालाई आमाको दूध पिलाऔं । आमाको दुधमा बच्चालाई चाहिने पोषकतत्त्वहरू र रोग प्रतिरोधक तत्वहरू हुन्छन ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया