शुक्रबार, वैशाख १४, २०८१

स्याटेलाइट अध्ययनका लागि पुन: छनिए ४ कम्पनी

नेपालखोज २०७८ मंसिर ७ गते १४:५९

काठमाडौं । नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न अध्ययनका लागि चार कम्पनी छानिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरिक्षमा आफ्नै भू-उपग्रह राख्ने भन्दै प्रस्ताव आह्‌वान गरेको थियो । जसमध्ये गत कात्तिकमा प्राधिकरणमा अन्तर्राष्ट्रिय आठ कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । ती प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने आठ कम्पनीमध्येबाट प्राधिकरणले चारवटा कम्पनी छनोट गरेको हो ।

प्राधिकरणले अन्तरिक्षमा नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न अध्ययनका लागि छानिएका चार कम्पनीहरुको नाम सार्वजनिकसमेत गरेको छ । प्राधिकरणका अनुसार प्रारम्भिक छनोटमा परेका चार कम्पनीमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट टीटीजी, यूएईको एसथ्री टेल आईएनसी र थाइल्यान्डको थाइकम पब्लिक कम्पनी लिमिटेड छन् ।

यी चार कम्पनीले बुझाएको प्राविधिक र आर्थिक मूल्यांकनका आधारमा उत्कृष्ट एक कम्पनीलाई नेपालको स्याटेलाइट प्रक्षेपणसम्बन्धी काम सुरु गर्न दिइने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालखोजलाई जानकारी दिए ।

भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न यसअघि उत्कृष्ट कम्पनी नआएको भन्दै गत वर्षको मंसिरमा प्राधिकरणले स्याटेलाइट जडानको प्रक्रिया नै रद्द गरेको थियो । त्यसपछि पुन: नयाँ प्रस्ताव आह्‌वान गरेको थियो ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरी सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

विशेषगरी उच्च हिमाली क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन, हाल दूरसञ्‍चार, टेलिभिजन, एफएम रेडियो र डीटीएचले विदेशी स्याटेलाइट कम्पनीसँग खरिद गरी सञ्चालन गर्दै आउनुपर्ने बाध्यता छ । जसकारण महँगोमा ब्यान्डविथमा रकम खर्च गर्नुपर्ने अहिलेको अवस्था रोक्नका लागि प्राधिकरणले आफ्नै स्याटेलाइट राख्ने तयारी गरेको हो ।

नेपालको आफ्नै स्याटेलाइट हुँदा बर्सेनि ठूलो परिमाणको विदेशी मुद्रा बचत हुने देखिन्छ । यसैकारणले आफ्नै स्याटेलाइट राख्ने तयारी थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको यो महत्त्वाकांक्षी योजनाबाट प्रविधिको क्षेत्रमा नेपालको पहुँच अन्तरिक्षसम्म जाने हुँदा यसलाई एउटा कोसेढुंगाका रुपमा हेरिएको छ ।

प्रतिक्रिया