राष्ट्र बैंकद्वारा विदेशी मुद्राको सटही सम्बन्धी व्यवस्थामा संशोधन

नेपालखोज २०७८ मंसिर ७ गते १५:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज सञ्चालनमा रहेका वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकको नाममा परिपत्र जारी गर्दे संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रअनुसार विभिन्न प्रयोजनहरु जस्तै माल वस्तु वा उपकरण आयात, सदस्यता शूल्क, सेवा शूल्क, मर्मत शूल्क, विज्ञापन, वायुयानहरुको भाडा वा लिज वा लिज पर्चेजको भुक्तानी, इन्जिनको रेण्टल चार्ज, फेरी फ्याईट खर्च, जहाजको इन्जिन तथा पाटपुर्जाहरुको मर्मत तथा ओभरहल शूल्क, स्टल भाडा, प्रशारण सेवा शूल्क, ट्रान्सपोण्डर शूल्क, भिस्याट शूल्क, डाँक सेवा शूल्क, छपाई शूल्क, डेमुरेज चार्ज, कानुनी सेवा शूल्क, दैनिक तथा भ्रमण भत्ता, परामर्श सेवा शूल्क, प्राविधिक सेवा शूल्क, नेपाली सेनाको हकमा विभिन्न शान्ती मिसनहरुलाई बार्षिकरुपमा विनियोजित रकम स्थान्तरणसमेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा बिभिन्न सर्तहरुको अधिनमा रहेर दिनु पर्ने व्यवस्था राष्ट्र बैकले गरेको छ ।

यस अन्तरगत नेपाली सेनाको हकमा बिभिन्न शान्ती मिसनहरुलाई वार्षिक विनियोजित रकम बिभिन्न उपकरण प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्नुपर्छे छ ।

साथै नेपाली सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने र नभएको शान्ति मिशनमा तैनाथ रहेका मुलुकहरुको लागि त्यस्तो सटही सुविधा नगदमा उपलब्ध गराउनसमेत कुनै बाधा पर्ने छैन, परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया