बिहीबार, वैशाख १३, २०८१

प्रतापको बाँसुरीमा मौलिक लोकधुन

नेपालखोज २०७८ मंसिर ९ गते ७:१९

काठमाडौं । बाँसुरीवादक प्रताप केसी जनकपुरधाममा हुर्किए । त्यहाँ स-साना मेलाहरु नियमित लाग्थे । जहाँ उनी शरीरको पछाडिको भागमा बाँसुरी बोकेर टहलिन्थे । उमेरले ठूलो भएपछि उनले केही महिना भारतको विहारमा फैमुल्ला खानसँग र त्यसपछि नेपालमा उस्ताद पूर्णबहादुर थापासँग बाँसुरीवादनको ज्ञान लिए ।

प्रतापको आमाको बुबा र उनको बुबा संगीतमा चासो राख्थे । उनको बुबालाई संगीतप्रति चासो नरहे पनि आमा भने गीत गुनगुनाइरहन्थिइन् । ‘हाम्रो परिवारमा संगीतको कुनै माहोल थिएन तर त्यही माहोलको प्रतिफल नै भन्नुपर्ला । मचाहिँ संगीततर्फ लागें,’ प्रताप सम्झन्छन् ।

प्रताप विशेषत नेपालको लोक संगीतको धुन बजाउन मनपराउछन् । प्रताप अधिकांश समय युरोपका विभिन्न देशमा आफ्नो बाँसुरीको धुन सुनाउन पुग्छन् । उनले एसियाका विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन् । उनले एसिया र युरोपका करिब २० भन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् । ‘विदेशमा हामीलाई धेरै मानिसहरुले राम्रो व्यवहार गर्छन् । हामीले बजाएर हिँड्ने संगीतमा भोकल हुँदैन । हामी वाद्यवादनमार्फत संगीत पस्कने भएकाले सबैले राम्रो व्यवहार गर्ने गरेका छन्,’ प्रताप भन्छन् ।

उनको अनुभवमा कतिपय स्थानमा नेपालको मौलिक लोकधुन सुनाउदा मानिसहरु अचम्मित पर्ने गरेका छन् । किनकि उनको बुझाइमा नेपालको मौलिक लोकधुन अन्य देशको धुनभन्दा फरक छ । संगीतमार्फत प्रताप समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्पका समयमा उनकै पहलमा भारतका कलाकार रासिद खान, हरिहरण, उषा उत्तूब, तलत आजिज, लुइस एण्ड व्याण्ड मिलेर नेपालका भूकम्पपीडितका लागि कार्यक्रम गर्दै त्यसवापत उठेको रकम भूकम्पपीडितलाई सहयोग गरेका थिए । कार्यक्रमवापत उठेको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको संयोजन भारतीय कलाकार उस्ताद रासिद खानले गरेका थिए ।

उनले कोभिड महामारीपछि विभिन्न ठाउँका अशक्त असहायहरुलाई रासन पानी दिएका थिए । उनले भक्तपुरको मानव कल्याण समाजमा रहेका अशक्त असाहयहरुलाई विभिन्न सहयोग गरेका छन् । पाटनमा रहेको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयका दृष्टिविहिनहरुलाई आफ्नो आम्दानीको केही रकम सहयोग गरेका छन् । उनले नेपाल सरकारबाट २०७६ असोज ३ गते विभूषण पाउने घोषणा भए पनि कोरोना महामारीका कारण ढिलाइ भएपछि २०७७ चैत २७ गते पाएका थिए ।

प्रतिक्रिया