‘कांग्रेसमा पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्न सभापतिमा मेरो उम्मेदवारी’

नेपालखोज २०७८ मंसिर ९ गते १९:२०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । उनले नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे ।

नधीले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताए । उनले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हित संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताए ।

उपसभापति निधीले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताए । उनले देउवा र पौडेलको मार्ग निर्देशनअनुसार नै पार्टी सञ्चालन गर्ने पनि बताए ।

उपसभापति निधीले नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने प्रतिवद्धता जनाए । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने वाचा गरे । उनले सभापतिमा लड्छु भनेदेखि नै प्रदेश २ मा आफूलाई कमजोर बनाउन धेरै आक्रमण गरिएको दाबी गरे ।

प्रतिक्रिया