बुधबार, वैशाख १२, २०८१

अफ्रिकन कालो कफी

हिक्मत थापा २०७८ मंसिर ११ गते १२:४२

मैले पिइरहेको
खाँटी इथोपियन कफी
अरेबिकाको,
कपमाथि उठ्दै गरेको
चकलेटी कालो बाफ–चित्रले,
इन्द्रेनीमा छोपिएर
बाफिलो चुम्बन दिएजसै
तिमी कतै यतै
लुकामारी खेलिरहे झैँ लाग्छ ।
यी आन्ध्रसागरका
एकतमासका मिठा धुनहरू
कानछेउमै चुमेजस्तो
तिम्रा बाक्ला ओठका स्पर्शले
यतै कतै छोएजस्तो
साँझको समुद्री छालले बनाएको
त्यही इन्द्रेनी सपनामा
यही अफ्रिकन कफीको वाष्पमा
उडिरहेको तिम्रै सुन्दर आकृतिले ।

फरक अलिकति
न हरियो,
न रातो,
न पहेंलो,
अझै तिनको गाढा रङझैँ
यो धर्तीमै पहिलोचोटि
छोडिएकी इडेनझैँ ।
वा रिफ्ट भ्यालीमै
फक्रिएकी लुसीझैँ
यतै कतैकी,
अझै नायल छेउछेउ हिँडेकी
अमिना, बुकोला र निकेझैँ,
तिमी आयौ छेउमै,
त्यही अफ्रिकन कफीको मीठो सुगन्धझैँ ।

कालो, स्वतन्त्रताका गीतहरूजस्तै
कालो, स्वछन्द कविताहरूजस्तै,
समय उहिले–अहिले
रोइरहेछ, धर्ती – विभेदले ।
जेलिएको छ
मेट्नैपर्ने रङका धर्साहरूले ।
तिमी उभिइदेऊ
बेरङ भई फेरिएर
काला–सेता बिम्बहरू,
अफ्रिकन कफी अरेबिकाको
मेन्युमा रहेको अमेरिकानोको
तातो बाफले
चकलेटी कालोबाट रङविहीन
मेरी प्रेयसीझैँ !

लेगोस, नाइजेरिया

प्रतिक्रिया