‘महामन्त्री हुने कुरा गौण भए पनि नेतृत्व बदल्ने कुरा मुख्य’ (भिडियोसहित)

नेपालखोज २०७८ मंसिर ११ गते १४:००

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समूहको उम्मेद्‌वारी घोषणा कार्यक्रममा शनिबार नेता थापाले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताए ।

उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए । नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नु पर्ने बताए ।

उनले भने, ‘यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो हो । हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नु पर्नेछ । आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ । चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होईन, नागरिकलाई एउटा भरोसा चाहिएको छ । यत्रो लामो संक्रमण पछाडी एउटा भरोसा चाहिएको छ केही ठिकठाक हुन्छ, केही कुरा बदलिन्छ । यो भन्दा राम्रो हुन्छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताए । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताए । सकेसम्म १२औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया