शुक्रबार, वैशाख १४, २०८१

बिहार र झारखण्ड सबैभन्दा गरिब, केरलमा कम !

नेपालखोज २०७८ मंसिर ११ गते १५:३८

नयाँदिल्ली । भारतको नीति आयोगले हालै फर्स्ट मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स (एमपीआई) जारी गरेको छ । यो इन्डेक्सअनुसार नेपालको सिमाना जोडिएका भारतीय राज्य बिहार तथा उत्तर प्रदेशसहित झारखण्ड भारतका सबैभन्दा गरिब राज्यमा दरिएका छन् । आयोगको यो रिपोर्टमा उल्लेख भएअनुसार नेपालको पूर्वी पहाडसँग सिमाना जोडिएको सिक्किमसहित केरल र गोवा सबैभन्दा कम गरिबी भएका राज्य हुन् ।

रिपोर्टमा भनिएको छ- बिहारमा ५१.९१ प्रतिशत जनता गरिब छन् । यसैगरी माओवादी हिंसाले आक्रान्त झारखण्डमा ४२.१६ प्रतिशत तथा मध्य अनि पश्चिम नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा ३७.७९ प्रतिशत जनता गरिब छन् । यो सूचीक‍ो चौथो नम्बरमा मध्यप्रदेश छ जहाँ ३६.६५ प्रतिशत जनता गरिब छन् । पाँचौं नम्बरमा भएको राज्य मिजोरममा ३२.६७ प्रतिशत मानिस गरिबीमा बाँचिरहेका छन् ।

केरलमा सबैभन्दा कम गरिब
नीति आयोगको एमपीआईअनुसार केरलमा ०.७१ प्रतिशत जनसंख्या मात्र गरिब छ । गोवामा ३.७६, सिक्किममा ३.८२ तथा तामिलनाडुमा ४.८९ प्रतिशत मानिस गरिब छन् । यी राज्य भारतमा सबैभन्दा कम गरिबी भएका राज्य हुन् ।

बिहार कुपोषणमा पनि नम्बर एक
बिहारमा कुपोषित जनताको संख्या सबैभन्दा बढी छ । कुपोषणमा त्यसपछि झारखण्ड, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तीसगढको नाम छ । यसैगरी स्वास्थ्य, शिक्षा, स्कुलमा बालबालिकाको उपस्थिति, खाना पकाउने इन्धन तथा बिजुलीबाट वञ्चित जनताको सूचकांकमा पनि बिहार सबैभन्दा खराब स्थितिमा छ ।

उत्तर प्रदेशमा बाल तथा किशोर मृत्युदरको स्थिति सबैभन्दा खराब छ । त्यसपछि बिहार, मध्यप्रदेश तथा झारखण्ड छन् । स्वच्छताबाट वञ्चित जनताको कुरा गर्दा पनि बिहार नै अगाडि छ भने त्यस पछि उडिसा छ ।

केन्द्र शासित राज्यको अवस्था
केन्द्र शासित प्रदेशहरुमध्ये दादरा नगर हवेलीमा २७.३६, जम्मु-कश्मीर तथा लद्दाखमा १२.५८, दमन तथा द्वीपमा ६.८२ एवं चन्डिगढमा ५.९७ प्रतिशत जनता गरिब छन् । पुन्डुचेरीमा १.७२, लक्ष्यद्वीपमा १.८२, अन्डमानमा ४.३० तथा दिल्लीमा ४.७९ प्रतिशत जनता गरिब छन् ।
तस्बिर : पन्जाब केशरी

प्रतिक्रिया