शुक्रबार, वैशाख १४, २०८१

वाग्मती प्रदेशबाट मात्र बैंकहरुले संकलन गरे ३२ खर्ब निक्षेप

नेपालखोज २०७८ मंसिर १४ गते १९:१४

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले वाग्मती प्रदेशबाट मात्र कुुल ३२ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेकाछन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिबिधि सम्वन्धी वाग्मती प्रदेशको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले यो प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १९ दशमलव २८ प्रतिशतले बढेर २०७८ असार मसान्तमा ३२ खर्ब आठ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९ दशमलव ७७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले वाग्मती प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भई २३ खर्ब ५२ अर्व ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दशमलव सात प्रतिशतले बढेको थियो । २०७८ असार मसान्तमा कर्जा निक्षेपअनुपात ७३ शसमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा २५ दशमलव सात प्रतिशतले बढेर आठ खर्र्ब ९६ अर्ब ४२ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा २२ दशमलव आठ प्रतिशतले वृद्धि भई सात खर्र्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैकका अनुसार वाग्मती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७ दशमलव सात प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी सात खर्ब ७१ अर्ब छ करोड अर्थात ८६ प्रतिशत कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४६ करोड कर्जा अर्थात शून्य दशमलव एक प्रतिशत कर्जा लगानीमा रहेको छ । कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४१ दसमलव एक प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम खानी उत्पादन सम्बन्धी उद्योगमा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, विद्युत् ग्यास तथा पानीमा ३२ दशमलव पाँच प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३७ दशमलव सात प्रतिशतले, निर्माणमा १९ दसमलव एक प्रतिशतले र गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा २० दशमलव आठ प्रतिशतले कर्जा बढेकोे छ । राष्ट्रबैंकका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकका एक हजार छ सय ६४, विकास बैंकका, दुुई सय ९५ वित्त कम्पनीका ९५ तथा लघुवित्त वित्तीय संस्थाका छ सय ८१ गरी जम्मा दुई हजार सात सय ३५ शाखा सञ्चालनमा रहेका छन् ।

यस मध्ये काठमाडाैं जिल्लामा सबैभन्दा बढी अर्थात एक हजार ५१ तथा रसुवा जिल्लामा सबैभन्दा कम अर्थात ४८ वटा शाखा सञ्चालनमा रहेका छन् । २०७४ को मौद्रिक नीतिमा सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्नुपर्ने व्यवस्था पश्चात वाग्मती प्रदेशमा ६५ नयाँ शाखाहरु स्थापना भएका छन् । यी शाखाहरुले २०७८ असार मसान्तसम्ममा कुल निक्षेप १४ अर्ब २६ करोड परिचालन गरेका छन भने चार अर्ब ७५ करोड कर्जा प्रवाह गरेका छन् । त्यसैगरी, यी स्थानीय तहमा खुलेका नयाँ शाखाहरुले दुई सय ७३ जनालाई रोजगारी प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया