मेरो र राप्रपाको राष्ट्रवाद उस्तै : अध्यक्ष दाहाल

नेपालखोज २०७८ मंसिर १५ गते १४:३८

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरे ।

उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो । अध्यक्ष दाहालले राप्रपाले ईतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबीसमेत गरे ।

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया