संसारभर बढ्यो आन्तरिक पलायन

काठमाडौं । गएको वर्ष कोभिडको महामारी प्राकृतिक प्रकोप, संघर्ष र हिंसा आदिका कारण २०१९ को तुलनामा अझ बढी आन्तरिक पलायन भएको एक तथ्यांकले देखाएको छ । २०१९ मा देशहरुको सीमाभित्रै पलायन हुने नागरिकहरुको संख्या ३.१५ करोड थियो भने २०२० मा उक्त संख्या बढेर ४.५ करोड पुगेको छ । यसरी विभिन्न कारणले आफ्नै देशमा पलायन हुन बाध्य मानिसहरु बढदै गए पनि उनीहरुको व्यवस्थापन भने हुन सकेको पाइँदैन ।
आन्तरिक पलायन निगरानी केन्द्र (आईडीएमसी) द्वारा तयार पारिएको यो तथ्यांकमा अचानक उत्पन्न विपत्ति तथा देशभित्रै भएको पलायन समेटिए पनि सुस्त गतिमा चलिरहेको विपत्तिका कारण हुने पलायन तथा अन्तर देशीय पलायन भने नसमेटिएको हुनाले पलायनको यो तथ्यांक यथार्थमा निकै बढि हुने कुरा बताइएको छ ।
गएको वर्ष भएका पलायनका बढीजसो घटना जलवायुसँग सम्बन्धित छन् – जस्तो १.४६ करोड मानिस आँधी-तुफानका कारण पलायन भएका छन् भने १.४१ करोड मानिस बाढीका कारण पलायन भएका छन् । २०२० मा तापमानमा चर्को वृद्धिका कारण ४६,००० मानिस तथा सुक्खाका कारण ३२,००० मानिस आफ्नो थाकथलो छोडेर अन्यत्र पलायन हुन बाध्य भए । आईओएमको यो रिपोर्टअनुसार, ‘२००८ देखि २०२० सम्म सुक्खाका कारण २४ लाख तथा तापमानमा चर्को वृद्धिका कारण ११ लाख मानिस आफ्नो थाकथलो छोडन बाध्य भएका थिए ।’
यसअघि, विश्व बैंकले के अनुमान लगाएको थियो भने उप-सहारा अफ्रिका, दक्षिण एसिया तथा दक्षिण अमेरिकामा जलवायु परिवर्तनसम्बन्धी घटनाका कारण २०५० सम्ममा १४.३ करोड नागरिक आफ्नै देशभित्र विस्थापित हुन बाध्य हुनेछन् । संयुक्त राष्ट्रसंघकै अर्को एजेन्सी, युनाइटेड नेसन्स कन्भेसन टु कम्ब्याक्ट डी-सर्टिफिकेसन (यूएनसीसीडी) को अनुमान के थियो भने २००० देखि २०१५ को तुलनामा २०५९ सम्म सुक्खाका कारण अफ्रिकामा २.२ करोड, दक्षिण अमेरिकामा १.२ करोड तथा एसियामा एक करोड नागरिक आन्तरिक पलायन हुन बाध्य हुनेछन् ।
पहिले मानिसहरु आन्तरिक संघर्ष तथा हिंसाका कारण आफ्नो थाकथलो छोडन बाध्य हुन्थे । अहिले यो प्रवृत्तिमा केही परिवर्तन देखिएको छ । आईओएमको रिपोर्ट भन्छ- बितेका केही वर्षयता आन्तरिक संघर्ष र हिंसाका कारण विस्थापित हुनेहरुको तुलनामा प्राकृतिक विपत्तिका कारण विस्थापित हुनेहरु बढी हुन थालेका छन् ।
जलवायु परिवर्तनका कारण बढिरहेको आन्तरिक पलायन कति तीव्र छ भने २०२० मा संसारभर भएको कुल पलायनमा ७६ प्रतिशत पलायनको कारण यही नै थियो । संसारका ४२ देशले आफ्नो देशमा भएको पलायनको कारण संघर्ष र हिंसा भएको बताएका थिए भने लगभग १४४ देशले प्राकृतिक विपत्तिलाई यसको कारण बताएका थिए ।
वर्ल्ड माइग्रेसन रिपोर्ट २०२२ अनुसार गएको वर्ष फिलिपिन्समा सबैभन्दा बढी ५१ लाख मानिस प्राकृतिक विपत्तिका कारण आन्तरिक पलायनको सिकार भए । एसियामा प्राकृतिक विपत्तिका कारण पलायन हुनेहरु अन्यत्रको तुलनामा बढी छन् । चीनमा २०२० को अन्त्य सम्म ५० लाख तथा भारतमा लगभग ४० लाख नागरिक प्राकृतिक प्रकोपका कारण आन्तरिक पलायनको सिकार भएको बताइएको छ ।
आईओएमका महानिर्देशक एन्टोनियो विटोरिनो भन्छन्, ‘हामी यस्तो विरोधाभासको साक्षी भइरहेका छौं जुन मानव-इतिहासमा पहिले कहिल्यै देखिएको थिएन । कोभिड महामारीका कारण एकातिर अर्बौं मानिस एक ठाउँमा टिकेर बस्न बाध्य छन् भने अर्कातिर करोडौं मानिस यस्ता पनि छन जसले प्रकृतिका कारण देश भित्रै पलायनको पीडा भोग्नुपरेको छ ।’
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया